सर्लाही ,श्रावण ४ गते । सर्लाहीको हरिपुर्वामा ‘सिकाई’ परियोजनाको कार्य प्रगति तथा आगामी कार्य योजना सार्वजनिक कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
परियोजनाले हरिपुर्वा नगरपालिकाका प्रमुख मेयर विनोद कुमार साहको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षमा हरिपुर्वा नगरपालिकामा सञ्चालन गरेको शैक्षिक गतिविधिको प्रगति समीक्षा तथा आगामी कार्य योजना सार्वजनिक गरेको हो ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेशनल र राष्टिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा सञ्चालनमा रहेको समावेशी शिक्षा सुदृढीकरण ‘सिकाइ’ परियोजनाले हरिपुर्वा नगरपालिकामा गत आर्थिक वर्षमा मात्रै २ करोड ४० लाख २७ हजार २४६ रुपैयाँ बराबरको शैक्षिक गतिविधिहरु सञ्चालन गरेको परियोजनाको साझेदार संस्था राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो ।
गत वर्षको कार्य प्रगति तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुहुँदै संरक्षण संयोजक शाहले सिकाइ परियोजनाले गत वर्ष हरिपुर्वा नगरपालिकाका विभिन्न विद्यालयहरुमा नयाँ विद्यालय भवन निर्माण तथा हस्तान्तरण, शौचालय निर्माण, विद्यालयहरुको भौतिक संरचनाहरुको मर्मत संभार, शिक्षण सिकाई सम्बन्धी विभिन्न तालिमहरुको सञ्चालन, नगरको शैक्षिक योजना तर्जुमा कार्यक्रम लगायतका जनप्रतिनिधि र पालिकाकै समन्वयमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न सो रकम खर्च बताउनुभयो ।
शुभकामना

परियोजना अन्तिम चरणमा रहेको जानकारी गराउँनुहुँदै संरक्षण संयोजक शाहले सिकाई परियोजनाको आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले परियोजना अन्तर्गत सञ्चालनमा रहेका ‘र’ समूह, सि चेन्ज, रुपान्तरण कक्षालाई निरन्तरता दिइने बताउनुभयो । उहाँले पालिकाले पनि परियोजनालाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा हरिपुर्वा नगरपालिकाका प्रमुख मेयर विनोद कुमार साहले शिक्षा क्षेत्रमा सिकाइ परियोजनाले पु¥याएको योगदानको उच्च मुल्याङ्गन गर्दै धन्यवाद दिनुभयो । नगर उप–प्रमुख सुमिन्त्रा देवी ग्वारनी, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, अभिभावक, बालबालिका लगायत सिकाइ परियोजनाको कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा नगरको शिक्षा सुधारमा पालिका आफैले पनि उल्लेख्य काम गर्ने योजना रहेको नगर प्रमुख साहले सुनाउनु भयो ।
सिकाई परियोजना विगत ४ वर्षदेखि सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकासहित पर्सा, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिकामा सञ्चालनमा रहेको छ ।
यसैबीच, सिकाइ परियोजना अन्तर्गत नै पर्सा गाउँपालिका वडा नं. ५ मा जीवनपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी रुपान्तरण कक्षाको उद्घाटन भएको छ ।
पर्सा गाउँपालिका वडा नम्बर ५ र ६ का गरी ३० जना बालबालिकाको सहभागिता रहेको कक्षाको वडा नम्बर ५ का वडा अध्यक्ष अनिल कुमार रायको अध्यक्षतामा उद्घाटन गरिएको हो ।
रुपान्तरण अभियन्ता साथी सहकर्ता कृष्ण कुमारी महतो र अर्चना कुमारी महतोले प्रत्येक शनिबार कक्षा सञ्चालन गराउने जानकारी संस्थाको संरक्षण संयोजक शाहले जानकारी दिनुभयो ।
कक्षाको उद्घाटनका क्रममा वडा अध्यक्ष रायले रुपान्तरण कक्षाका भाईवहिनीहरुलाई वडा कार्यलायबाट नै खाजा नास्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।















