रौतहट ,श्रावण १४ गते । ‘गौर हत्याकाण्ड’का दोषीलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आज रौतहटमा मोटरसाईकल र्याली निकालेको छ । पूर्व घोषित कार्यक्रम अनुसार समितिले रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाईकल र्याली निकालेको हो । पीडित परिवारले न्यायको माग गर्दै हिजो (शनिबार) धर्ना दिएको थियो । सोमबारदेखी उनीहरुले अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन् । अनिश्चितकाली रौतहट बन्दको पूर्वसन्ध्यामा उनीहरुले मोटरसाईकल र्याली निकालेका हुन् । मोटरसाईकल र्यालीलाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले गौर हत्याकाण्डका आरोपितलाई कारवाही नगरिए आन्दोलनलाई अझै शसक्त बनाउँने चेतावनी दिएका छन् । सरकारसंग गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गर्दा नसुनेको बताउँदै महासचिव साहले बाध्यभएर रौतहट बन्द गर्नुपरेको बताए ।
गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले पीडित परिवारलाई न्याय नदिएको र आपराधिलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आजपा र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको बताए ।
शुभकामना

साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल रयालीमा उत्साहपूर्वक स्वस्फूर्त रुपमा जनताहरु सहभागी भई रयालीलाई सफल बनाइएको महासचिव साहले भने । हत्याकाण्डका आपराधिलाई कारवाही गराउनका निमित्त सोमबार देखि हुने अनिश्चितकालिन रौतहट बन्दलाई सफल बनाइदिन वस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्गसंग उनले आग्रह समेत गरेका छन् । समितिका संयोजक रुपसागर देवीका अनुसार न्याय पाउँने आशमा सरकारलाई दबाब दिने उदेश्यले आफूहरु धर्ना, मोटरसाईकल र्याली जस्ता आन्दोलनका कार्यक्रम गरेको र सोमबारदेखी अनिश्चितकाली रौतहट बन्द गरिने बताईन् ।
शक्ति र सत्ताको आडमा हत्याकाण्डका आपराधिकलाई जोगाउँने काम भईरहेको आरोप लगाउँदै उनले माग पुरा नभए अझै कडा आन्दोलनमा उत्रिने बताईन् । मोटरसाईकल र्यालीमा सहभागिहरुले गौर हत्याकाण्डका मुख्य योजनाकार उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।

हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन् ।
२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए ।
त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो । यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ । गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए ।
घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो ।
पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।















