फोकस नेपाल , पौष २२ गते । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा ठूलो परिमाणमा लगाइएको अवैध गाँजाखेती नष्ट गरिएको छ।
मिति २०८२ साल पुस २२ गते बिहान करिब ९ः०० बजे बर्दिबास नगरपालिका–५ अन्तर्गत पर्ने माथिल्लो बरडाँडा क्षेत्रमा सञ्चालन गरिएको संयुक्त प्रहरी अपरेशनमार्फत करिब ४ बिघा क्षेत्रफलमा फैलिएको अन्दाजी ५१ हजार गाँजाका बोट उखेलेर नष्ट गरिएको हो।
शुभकामना

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टको कमाण्डमा १७ जना, इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बिनय कुमार सिंहको कमाण्डमा १५ जना, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा १० जना तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सरोज अधिकारीको कमाण्डमा ४ जना गरी जम्मा ४६ जनाको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
संयुक्त टोलीले अवैध रूपमा लगाइएको गाँजाका बोटहरू उखेलेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
लागू औषध नियन्त्रण तथा अवैध खेती अन्त्य गर्ने उद्देश्यले यस्ता अभियानलाई आगामी दिनमा अझ तीव्र बनाइने प्रहरीले जनाएको छ।प्रहरीले लागू औषधसम्बन्धी अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिएको छ।


















