सिराहा, लहान । जर्सि ओभरसिज एड (JOA) र केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ, नेपाल तथा सामुदायिक वन उपभोक्ता महासंघको साझेदारी र लहान नगरपालिकाको समन्वयमा मुतनीखोला जलाधार क्षेत्रमा संरक्षण परियोजना प्रभावकारी रूपमा सञ्चालनमा रहेको छ।
परियोजनाअन्तर्गत ९ वटा सामुदायिक वन समूह र ३२ वटा कृषक समूह आबद्ध रहेका छन्। यस कार्यक्रमबाट ४०० घरधुरीका किसानले “किसान कार्ड” प्राप्त गरेका छन्। तीमध्ये धेरै किसानले चुरालठी निर्माण, सिलाइ–कटाइ, बाँसको हस्तकला, पशुपालन, कृषि उत्पादन तथा दुनाटपरी बनाउने जस्ता आयआर्जनमुखी गतिविधि सञ्चालन गर्दै आएका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यसै क्रममा लहान नगरपालिका–१५ मोहनपुरस्थित सीता महिला कृषक समूह, मुत्नी कृषक समूह र बाबा पशुपालन कृषक समूहका सदस्यहरूका लागि संरक्षण पाठशालाअन्तर्गत विषादीरहित खेती प्रवर्द्धन सम्बन्धी स्थलगत तालिम सम्पन्न गरिएको छ। तालिममा तीन बाटै समूहका सदस्यहरू तथा भरोसियास सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमका क्रममा सहभागीहरूले “झोलमल–१, झोलमल–२ र झोलमल–३” बनाउने व्यावहारिक सीप हासिल गरेका छन्। उक्त तालिमको मधेश प्रदेश सचिव यामुन प्रसाद यादवद्वारा स्थलगत निरीक्षण समेत गरिएको थियो। कृषि प्राविधिक गणेश कुशवाहा र स्थानीय सहजकर्ता वेदा कुमारी बस्नेतको सहकार्यमा तालिम सफलतापूर्वक सम्पन्न भएको हो।

झोलमल बनाउने मुख्य सामग्रीहरू:
झोलमल–१: गाईको गहुँत, पानी, ताजा गोबर मल, ई.एम. झोल
झोलमल–२: गाईको गहुँत, पानी, ई.एम. झोल
झोलमल–३: विभिन्न वनस्पति (तितो, पिरो, अमिलो आदि), गाईको गहुँत, पानी, गोबर मल, ई.एम. झोल


झोलमल-१ बनाउन लाग्ने आवश्यक सामाग्रीहरु
५० लिटरको ड्रम
१६ लिटर गाइको गहुँत
१६ लिटर सफा पानी
१७ के.जी गाईको ताजा गोबर मल
१ लिटर ई. एम. झोल
झोलमल-२ बनाउन लाग्ने आवश्यक सामाग्रीहरु
५० लिटरको ड्रम
२४.५ लिटर गाईको गहुँत
२४.५ लिटर सफा पानी
१लिटर ई. एम. झोल
झोलमल-३ बनाउन लाग्ने आवश्यक सामग्रीहरु
५० लिटरको प्लास्टिक ड्रम
१७ केजी बनस्पतिहरु (तितो, पिरो, टरों, अमिलो, पर्पराउने खालको जस्तै तितेपाती, निम, बकाइनो, सिस्नु, बनमारा आदी) असुरो, केतुकी,
१६ लिटर गाईको गहुत
१६ लिटर सफा पानी
१७ केजी गाईको ताजा गोबर मल
१ लिटर ई. एम. झोल

सहभागी किसानहरूले आगामी दिनमा आफ्नै घरमा झोलमल तयार गरी तरकारी बालीमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस तालिमले स्थानीय किसानलाई विषादीरहित खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















