फोकस नेपाल , पौष २३ गते । महोत्तरी जिल्लाका चर्चित सामाजिक अभियन्ता नागेन्द्र सत्या, भास्कर झा सहितको जेन–जी (Gen Z) नेतृत्वको टिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ।
उक्त पार्टी प्रवेश कार्यक्रम रास्वपाका उपसभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अर्यालको हातबाट सामाजिक अभियन्ता सत्या, झा लगायतका युवाहरुले औपचारिक रुपमा पार्टी सदस्यता ग्रहण गरेका हुन्।
शुभकामना

कार्यक्रममा बोल्दै उपसभापति अर्यालले देश परिवर्तनका लागि युवाको भूमिका निर्णायक हुने उल्लेख गर्दै रास्वपा युवाहरुको आशा, भरोसा र वैकल्पिक राजनीतिका लागि प्रतिबद्ध रहेको बताए। उनले इमानदार, सक्षम र सामाजिक रुपान्तरणमा सक्रिय युवाहरुको आगमनले पार्टी थप सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।
पार्टी प्रवेशपछि बोल्दै सामाजिक अभियन्ता नागेन्द्र सत्याले लामो समयदेखि सामाजिक न्याय, सुशासन र जनताको पक्षमा काम गर्दै आएको अनुभवलाई अब राजनीतिक माध्यमबाट संस्थागत गर्न रास्वपा रोजेको बताए। भास्कर झाले पनि पुरानो राजनीतिक शैलीबाट आजित जनताका लागि नयाँ विकल्प आवश्यक भएकाले रास्वपामा आबद्ध भएको धारणा राखेका छन् ।
कार्यक्रममा महोत्तरी जिल्लाबाट युवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। पार्टी प्रवेशसँगै महोत्तरीमा रास्वपाको संगठन विस्तार र जनआधार थप मजबुत हुने अपेक्षा गरिएको छ।















