लहान । बाली तथा पशुपन्छी कृषक विमाबारे कृषकलाई जानकारी दिने उद्देश्यले लहानमा आयोजित एकदिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा लहान १५ र १८ का स्थानीय कृषकहरू, महिला समूहका प्रतिनिधि तथा कृषि–पेसामा संलग्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका सहजकर्ता तथा कृषि प्राविधिक गणेश कुमार सिंह कुश्वाहाले कृषक विमाको महत्व, दाबी प्रक्रिया, सरकारी अनुदान, जोखिम व्यवस्थापन तथा किसानले बुझ्नुपर्ने आधारभूत प्राविधिक पक्षबारे विस्तारपूर्वक जानकारी गराए।
शुभकामना

त्यसैगरी, संरक्षण परियोजना अधिकृत शोभा पासवानले प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य जोखिमका कारण हुने कृषिगत क्षतिबाट बच्न विमा अनिवार्य हुने पहलुमा जोड दिँदै किसानलाई योजनाबद्ध रूपमा विमा सुविधामा जोडिन आग्रह गरेका छिन ।
लहान पशु विकास शाखाका अधिकृत रामकृष्ण यादवले पशु विमाको प्रक्रिया, आवश्यक कागजात,पशुलाई कुन कुन खोप लगाउने तथा सरकारी सहयोगका प्रावधानहरूबारे प्रष्ट व्याख्या गरेका छन् ।
कार्यक्रममा सानिमा डिआइजी आइन्स्योरेन्सका शाखा प्रमुख राम कुमार साहले बाली तथा पशुपन्छी विमामा लाग्ने प्रिमियम, बीमा कवरेज, लागुहुने दिन ,पशुपन्छी मरेको कति दिन भित्र जानकारी दिने , क्षति हुँदा पाइने सहुलियत तथा कम्पनीको सेवा–सुविधाबारे सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गराएका छन् ।
कार्यक्रमको समन्वय राष्ट्रिय कृषक महासंघ नेपाल, प्रदेश कार्यालय लहान शाखाद्वारा गरिएको थियो। संघका कार्यकारी अध्यक्ष कविता बन्जारे ,प्रदेश सचिव यामुन प्रसाद यादव र कोषाध्यक्ष मिर्माला चौधरीको उपस्थितिमा कृषकलाई सुरक्षा, दिगो कृषि व्यवसाय र जोखिम न्यूनीकरणका लागि यस्ता कार्यक्रम निरन्तरको लागि यो विमा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको संरक्षण परियोजना अधिकृत शोभा पासवानले बताए ।



















