सर्लाही,माघ १५ गते । सर्लाहीको गोडैता नगरपालिका–६ मा रहेको महालक्ष्मी चिनी उद्योगमा उखुको तौल लिनका लागि उखु बोकेका सवारी साधनहरू लामबद्ध रूपमा प्रतीक्षामा बस्न बाध्य भएका छन्।
उद्योगमा दैनिक ठूलो मात्रामा उखु भित्रिने गरे पनि तौल लिने प्रक्रिया सुस्त हुँदा किसानहरूले घण्टौँसम्म पालो कुर्नुपरेको गुनासो गरेका छन्। लामो समयसम्म सवारी साधन रोकिँदा इन्धन खर्च बढ्नुका साथै चालक र किसानलाई समेत सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ।
शुभकामना

किसानहरूका अनुसार समयमै तौल नहुँदा उखु सुक्ने, गुणस्तर घट्ने तथा आर्थिक नोक्सानी समेत बेहोर्नु परेको छ। “उखु उत्पादन गर्न महिनौँ मेहनत गर्छौँ, तर उद्योगमा आएपछि दिनभरि लाइनमा बस्नुपर्छ,” एक किसानले दुखेसो पोखेका छन् ।
यस विषयमा उद्योग प्रशासनले भने आवश्यक जनशक्ति र व्यवस्थापनको अभावका कारण समस्या देखिएको स्वीकार गरेको छ। यद्यपि, समस्या समाधानका लागि चाँडै व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
किसानहरूले तौल प्रक्रिया छिटो र पारदर्शी बनाउन तथा आवश्यक उपकरण र जनशक्ति थप्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै समाधान नहुने हो भने आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत उनीहरूले दिएका छन्।















