फोकस नेपाल ,पुस ०७ गते । धनुषा क्षेत्र नम्वर २ मा षड्यन्त्रगरी हराएको भन्दै पुनः मतगणनाको माग गर्दै नेकपा एमालेका उम्मेदवार उमाशंकर अगरियाले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
उम्मेदवार अरगरियाले धनुषा २ का मुख्य निर्वाचन अधिकृत धर्मअवतार कोइराला, निर्वाचित भएका काँग्रेस उम्मेदवार रामकृष्ण यादव, निर्वाचन अयोग लगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
शुभकामना

सो रिटमा अदालतले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कारण देखाउ आदेश दिएको हो । अदालतले मतगणना समयको सिसिटिभी फुटेज र मतपत्र पनि सुरक्षित राख्न भनिएको बुझिएको छ ।
यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले १५७ मतले विजयी भएको घोषणा गरेको छ । तर एमाले उम्मेदवार अरगरियाले करिब ४ सय सदर मत नै गणना नगरेको दावी गरेका छन् ।
प्रतिनिधिसभा तर्फको मतपत्र बाकसमा गएको अवस्थामा त्यसलाई पनि गणना गर्नुपर्ने आयोगको निर्देशिकामा व्यवस्था रहेपनि त्यसो नगरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गराएको एमाले उम्मेदवार अरगरियाको दावी छ ।
‘करिब ४ सयभन्दा बढी सदर मतपत्रलाई बदर गरिएको, कुन मतदान केन्द्रमा कति मत खसेको र कति गणना भएको लगायतका सूचना माग्दा समेत मुख्य निर्वाचन अधिकृतले नदिएपछि षड्यन्त्र गरेको पुष्टि हुन्छ’, उनको दावी छ, ‘पुनः मतगणनाको माग गरेको छु । पुनः मतगणना भयो भने म चुनाव जित्नेमा ढुक्क छु ।’














