बुटवल,जेठ ३० गते ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मंगलवारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान सुरु गरेको छ।
निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८:४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। भैरहवाबाट निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराती आफैं विमानस्थलमा पुगेर स्वागत गरेका थिए।
शुभकामना

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं फर्किएको छ। निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा-काठमाडौं उडान नियमित गर्ने जनाएको छ। मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेटको छ।
निगमले जेठ पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो। अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।
निगमले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए। उनका अनुसार निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न–अराउण्ड फ्लाइट भनिन्छ। यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ। त्यहाँबाट यात्रु चढाउन पनि पाइँदैन। साथै चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन्।
२०७९ जेठ २ गतेबाट व्यवसायिक रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरवेज मात्रै थियो। कुवेत-भैरहवा गर्दै आएको जजिराले पछिल्लो करिब डेढ महिनादेखि उडान रोकेको छ।














