जनकपुरधाम । मधेश प्रदेश सभाबाट सुविधामा लिएका गाडी अहिलेसम्म प्रदेशका सभामुखदेखि दलका नेता, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । एक असोजमै दलका नेता, प्रमुख सचेतक तथा संसदीय समितिको कार्यकाल सकिए पनि उनीहरुले अझै सुविधामा पाएका गाडी मै आफ्ना चुनावी प्रचार प्रसार गरिरहेका छन् । प्रदेश सभामुख र उपसभामुखको कार्यकाल पनि असोज २२ गते नै सकिएको छ ।
सभामुख, उपसभामुख बाहेक दलका नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापति गरी १४ जनाले मधेश प्रदेश सभाबाट गाडीका सुविधा लिएका छन् । तर अहिलेसम्म नेकपा एमालेका प्रमुख सचेतक किशोरी साह (कमल) र कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति मदन सेन श्रीवास्तव, लोसपाका प्रमुख सचेतक परमेशवर साह, नेपाल संघीय समाजवादी पार्टीका संसदीय दलका नेता सावित्री देवी साह र प्रदेश मामिला समितिका सभापति अशोक यादवले मात्रै सुविधामा लिएका गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेका छन् ।
शुभकामना

बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका सभामुख अहिले पनि सुविधामा लिएका सरकारी गाडी प्रदेशसभा सचिवालयमा बुझाएका छैनन् । त्यसैगरी, २०७४ सालको निर्वाचनमा जसपाको कोटामा सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भइ उपसभामुख भएकी उपमा देवले पनि अझै सुविधामा पाएकी गाडी फिर्त गरेकी छैनन । त्यसैगरी, लोसपाका संसदीय दलका नेता तथा प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलले प्रदेशसभा सदस्यमा बारा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट उम्मेदवारी दिएका छन् । तर सोनलले प्रदेश सभाबाट सुविधामा लिएका गाडी भने अझै फिर्ता गरेका छैनन् । उनी सरकारी गाडीमै आफ् ना चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको स्थानीयहरुले बताएका छन् ।














