शिव मारुती ज्वेलर्स

फोक्स नेपाल, संवाददाता । जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका समन्वय समितिले तीन जना केन्द्रीय सदस्यसहित चार जनालाई सधारण सदस्यसमेत नरहेने गरी कारवाही गरेको छ । उम्मेदवारी दर्ताको एक सातापछि जसपाबाट बागी भएर उम्मेदवारी दिएका केन्द्रीय कार्यकारिणी सदस्य राम नरेश राय, केन्द्रीय सदस्य गायत्री देवी साह, राजेश कुमार यादव र मधेश प्रदेश समिति सदस्य गंगा लामालाई कारवाही गरिएको छ ।

उनीहरुले पार्टीको निर्देशन नटेरेपछि कारवाही गरिएको छ । पार्टीको अनुशासन विपरीत गएको भन्दै कारवाही गरिएको जिल्ला अध्यक्ष वीरेन्द्र कुमार रायले बताए ।

शुभकामना

‘पहिले पार्टीले उनीहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो, नमानेपछि स्पष्टीकरण पनि सोधिएको थियो,’उनले भने, ‘ त्यसको जवाफ न आएपछि र पार्टीको निर्देशन नमानेपछि कारवाही गरिएको छ ।’ कारवाहीमा परेका रामनरेश राय ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका थिए । पछि जसपाबाट अल्गिएर महन्त ठाकुरको नेतृत्वमा लोसपा बन्दा उनी जसपा नै रोजे । त्यतिबेला उनी मधेश प्रदेशमा उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्रीसमेत थिए । जसपा नै रोज्दा केही दिन उनको मन्त्री पद पनि जोगिएको थियो । तर पछि सरकारमा अन्य दललाई सहभागी गराउँदा उनलाई पदमुक्त गरिएको थियो । उनले राजिनामा दिन मानेका थिएनन् । त्यतिबेलादेखि नै पार्टीमा उनको असंतुष्टि देखिएको थियो ।

आसन्न निर्वाचनमा पनि गठबन्धनका कारण पार्टीबाट उनी उम्मेदवार बन्न पाएनन् । त्यसपछि उनले सर्लाही क्षेत्र नम्बर २ को (क)बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराइ प्रचार–प्रसारमा व्यस्त भए । यो क्षेत्रमा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ । उनले बागी भएर स्वतन्त्र उम्मेदवारी दिएको सीट एमालेको भागमा परेको छ । यहाँ एमालेले राजनारायण यादवलाई उम्मेदवार बनाएको छ । उनी एमाले जिल्ला अध्यक्षसमेत छन् । सर्लाहीमा जसपाले कारवाही गरेका चारै जनाले बागी भएर उम्मेदवारी दिएका छन् ।गायत्री देवी साहले क्षेत्र नम्बर ३ को (ख), राजेश कुमार यादव क्षेत्र नं. २ (ख) र गंगा लामाले क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । यी क्षेत्रमा जसपा–एमालेबीच तालमेल भएको छ ।

सोमबार नै महोत्तरीमा पनि जसपाले केन्द्रीय सदस्य कृष्ण शंकर साहलाई कारवाही गरेको छ । उनी माथि पार्टीको नेतृत्वमाथि दुव्र्यवहार गरेको आरोप छ । यस्तै, गत असोज २६ गते पर्सा जिल्ला समितिले पनि सात जनालाई कारवाही गरेका थिए । पार्टीले केन्द्रीय सदस्य करिमा वेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, गौरी शंकर साह, प्रदेश परिष्द सदस्य शिवकुमार साह, युवा नेता कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाललाई कारवाही गरेको थियो । उनीहरु मध्ये पाँच जना बागी भएर उम्मेदवारी दिएका छन् । वेगमले पर्सा क्षेत्र नम्बर २ (ख), अन्सारीले क्षेत्र नं १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं २ (ख), जयसवालले क्षेत्र नं ३ (क) बाट उमेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गइ शिवकुमार र गौरीशंकर साहले क्रमशः क्षेत्र नं ३ (क) र ३ (ख) बाट उम्मेदवारी दिएका छन् । जसपाबाट कारवाहीमा परेका यी प्रतिनिधिमूलक पात्र मात्र हुन् । अन्य जिल्लामा पनि बागी भएर उम्मेदवारी दिएकालाई कारवाही गरिएको छ ।

मधेश प्रदेश समितिका सचिव दिनेश यादवका अनुसार सबै जिल्लाबाट विवरण आउने क्रममा जारी रहेको बताए । ‘पार्टीबाट राजिनामा दिइसकेका वा अन्य पार्टी प्रवेश गरेकालाई कारवाही गर्ने कुरै भएन्, उनीहरुको चेपटर क्लोज भइसक्यो,’उनले भने,‘ जसले पार्टीमा भएर पनि आफ्नै वा तालमेल गरिएको दलका उम्मेदवार विरुद्ध लागेको छ त्यस्तोलाई कारवाही गर्दैछौं । १२ जनालाई कारवाही गरिसकेका छौं । त्यस्ता अन्य नेता पनि पाइपलाइनमा छन् । कतिपयले उम्मेदवारी फिर्ता लिने तयारी पनि गरिरहेका छन् ।’

२०७९ कार्तिक २, बुधबार ०५:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय