फोकस नेपाल ,असोज २७ गते । बिमा ठगीका लागि नक्कली बिहे गरेर युवकको हत्या गरेको घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बिमा रहक खानका लागि कानूनी रुपमा श्रीमती बनेकी सपना मल्लसहित संजीव अर्याल, छवीकुमारी खत्री, दिपक केसी, सरहदार अहद खाँ र टोपबहादुर क्षेत्रीविरुद्ध मुद्दा दायर भएको हो । यसअघि उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले गत वर्ष साउनमा मुद्दा दायर गरेको थियो ।
शुभकामना

सपनाविरुद्ध दुई करोड ५० लाख, संजीवलाई ८०) लाख ३६ हजार, छवी कुमारीलाई १७ लाख ४६ हजार, दिपकविरुद्ध ६० लाख बिगो कायम गरिएको छ । त्यस्तै, अहमद खाँविरुद्ध २० लाख बिगो कायम गरि विभागले मुद्दा दायर गरेको हो । सञ्जीवन नेतृत्वको गिरोहले सपनाको बाँके कोहलपुरका सर्जन विकसँग कानुनी रुपमा बिहे गराई उनको दुर्घटना भएको देखाएर उनको हत्या गरी बीमा रकम निकालिर बाँडेर लिएका थिए ।पछि नेपाल पुनर्बिमा कम्पनीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो । ठूलो रकमको बीमा गरेलगत्तै शंकास्पद मृत्यु भएकाले पुनर्बिमाका कर्मचारीले शंका गरेर प्रश्न उठाएपछि अनुसन्धान सुरु भएको थियो । कुनै पनि बिमा कम्पनीले बिमाको जोखिम वहनका लागि पुनर्बिमा गरेको हुन्छ । यसको पुनर्बिमा नेपाल रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीमा गरेको थियो । पुनर्बिमाले पनि छानबिन विस्तृत अध्ययन गरेर मात्र दाबी भुक्तानी दिन्छ । एक सामान्य मजदुरको साढे दुई करोड रुपैयाँको बिमा हुनु, बिमा गरेको चार दिनपछि विवाह दर्ता हुनु र त्यसको एक महिनामै उनको शंकास्पद मृत्यु हुनुले घटना सुनियोजित हुन सक्ने भएकाले घटना शंकास्पद बनेको थियो ।
सोही आधारमा पुनर्बिमाले रिलायन्स लाइफ इन्स्योरेन्सलाई यसबारे जानकारी गराएपछि सो कम्पनीका उच्च अधिकारीले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए । अनुसन्धानमा बिमाकै लागि हत्या भएको पुष्टि भएको थियो ।
२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट घाइते बनाइएपछि सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे.१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै योजनाकार सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए ।
केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै पूर्वयोजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो । ठक्कर दिँदा मृत्यु हुने पक्का नभएपछि उनलाई पछि तानेर टायरले किचेर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनापछि गाडीचालक टोपबहादुर भागेका थिए ।
प्रहरीले पनि त्यस बेला घटनाको विस्तृत अनुसन्धान गरेन । घटनास्थलमा शंका गर्ने प्रशस्त ठाउँ थिए । बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा रुटको बस नै चल्दैन । राति ११ बजे त्यो सडकखण्डमा किन बस गयो भनेर शंकाको सामान्य दृष्टिले समेत प्रहरीले हेरेको छैन । रातको समयमा सडक सुनसान हुने भएकाले हत्याका लागि सो ठाउँ छानिएको थियो । चालक क्षेत्रीले घर फर्कने क्रममा ६ जना स्थानीयले बस रोकेर त्यता पु¥याइदिन आग्रह गरेकाले आफू त्यो सडकमा गएको बयान दिएका छन् । त्यो विषयलाई पुष्टि गर्न प्रहरीले चासो नदिँदा यति ठूलो अपराधका अभियुक्तले उन्मुक्ति पाएका हुन् ।
हाल अनुसन्धानका क्रममा त्यसरी बसको ठक्करबाट हत्या गराउन चालकलाई नौ लाख रुपैयाँ दिने समझदारी भएको थियो । त्यसमध्ये तीन लाख रुपैयाँ दिएको पुष्टि भइसकेको । नक्कली श्रीमती सपनासहित मुख्य योजनाकार सञ्जीव, हत्यामा संलग्न गाडीचालक क्षेत्री, बिमा अभिकर्ता सरदर अहमद खाँ र अन्य दुई सहयोगी दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरी सिआइबीले मुद्दा दायर गरेको थियो ।
यसरी टुट्यो सपनाको सपना
यसरी नक्कली बिहे गरे वापत सपना मल्लाई विदेश पठाउने आश्वासन दिइएको थियो । उनी तयार भइन् । ९ साउन बिहानै चार साथीहरूका साथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी भिसामा जापान जाँदै थिइन् । उनको नयाँदिल्लीको ट्रान्जिट थियो । नयाँदिल्लीबाट जापानका लागि उड्न खोज्दा भारतीय अधिकारीहरूले रोकेर नेपाल फर्काइदिएपछि उनको जीवनकै ठूलो खुसी पीडामा परिणत भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिआइबीको टोली उनलाई लिन पुग्दा सपनाको सबै सपना टुटिसकेका थिए ।
पहिले नै सो घटना सबै ‘सेटल’ भइसक्यो भन्ने उनलाई लागेको थियो, तर ढिलोचाँडो अपराध लुक्नेवाला थिएन । उजुरी परेपछि सपनालाई केही दिनदेखि प्रहरीले निगरानीमा राखिरहेको थियो । ९ साउनमा उनी दिल्ली पुगिसकेको खुल्यो । प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरी पक्राउ गरेको हो । बिमाबापत आएको साढे दुई करोडमध्ये एक करोड सात लाख ६६ हजार सपना र उनको परिवारले लिएका थिए । ८० लाख ३६ हजार सञ्जीव र ६० लाख दीपक केसीले लिएका थिए । त्यसैगरी सो समूहले अन्य व्यक्तिको पनि बिमा गराएर योजनाबद्ध रुपमा हत्याको योजना बनाएको समेत प्रहरी अनुसन्धानमा खुलेको थियो । यसमा बिमा कम्पनीको पनि कमजोरी देखिएको थियो ।
अभिकर्ताको तालिमपछि जन्मिएको अपराध
घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल हुन् । जसले आफैँ पनि जीवन बिमा अभिकर्ताको तालिम लिएका थिए । मेटलाइफ इन्स्योरेन्सबाट २०६७ सालमा तालिम लिएका थिए । तालिम लिएपछि उनले जीवन बिमाको फाइदाबारे थाहा पाएका थिए । त्यही ज्ञानलाई उनले अपराधमा प्रयोग गरेका हुन् । सुरुमा उनले आरती भन्ने ललिता सापकोटालाई नै त्यसरी सर्जनसँग विवाह दर्ता गराएर आफ्नो योजनामा सहभागी गराउन लागेका थिए । तर, उनको उमेर नपुगेपछि उनको साथी खोज्न लगाए । त्यही क्रममा ललिताले सपना मल्ललाई सञ्जीवसँग भेट गराइदिइन् । सपना र ललिता स्कुलका सहपाठी हुन् । सपना जसरी पनि विदेश जान चाहन्थिन् ।
सञ्जीवले उनको महत्वाकांक्षा पूरा गरिदिने आश्वासन दिए । डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिने र पैसा पनि दिने भन्दै त्यसरी नक्कली बिहे गरेर बिमा रकम लिने योजना सुनाए । त्यसमा उनी सहमत भएकी थिइन् । सोही योजनाअनुसार दुईजनाले २ चैत ०७७ मा विवाद दर्ता गराएका थिए । कमजोर आर्थिक अवस्था भएका सर्जनलाई पनि उनले त्यसरी विवाह गर्दा आर्थिक फाइदा हुने आश्वासन दिएका थिए ।














