शिव मारुती ज्वेलर्स

विशाल बस्नेत, महोत्तरी । महोत्तरीमा नदीजन्य पदार्थको तस्करी नौलो होइन । विशेष गरी जिल्लाको बर्दिवास, गौशाला र भंगाहा नगरपालिकाअन्तर्गत नदी उकास तटीय क्षेत्र र वन क्षेत्रमा हुने तस्करी निकै भयावह छ ।

रातारात खोला र वन क्षेत्रबाट हुने तस्करी कहाँ र कसले गर्छ भन्ने अज्ञात नै रहेका बेला १७ पुस बिहानको राति गौशाला नगरपालिकाको मरहा खोलामा भने अनौठो घटना भएको छ । बिहान करिब ४ बजे बर्दिवास सबडिभिजन वन कार्यालयबाट खटिएको सिकेन्द्रप्रसाद चौधरी नेतृत्वको गस्ती टोलीसँग तस्करहरूको मुठभेट नै भयो ।

शुभकामना

सो घटनाले नदी र वन क्षेत्रमा अवैध उत्खनन गरेर तस्करी गर्ने क्रसर व्यवसायीहरूको अवैध धन्दा उदांगो पारेको छ । त्यस क्षेत्रबाट तस्करी गरेर ओसारिएको सबै नदीजन्य पदार्थ गौशालाकै ३ वटा क्रसर उद्योगहरूमा भण्डारण गरेको पाइएको छ ।

यस्तो छ घटनाको नालीबेली

वनको गस्ती गर्दै मरहा खोला पुगेका वन रक्षकहरू एस्काभेटर र जेसिबीको माध्यमबाट अवैध उत्खनन गरिरहेको देखेपछि उत्खनन स्थल पुगेका थिए । जब तस्करहरूले गस्ती टोलीलाई देखे, तब भागाभाग हुन थाल्यो । केही व्यक्ति गस्ती टोलीमाथि नै आक्रमणमा उत्रिए । यही मौका पारेर उत्खनन गरिरहेका एस्काभेटर, जेसिबी र ५ वटा टिपर लिएर अन्य व्यक्ति फरार भए । उत्खननमा प्रयोग गरिएका साधनहरू लिएर अन्य व्यक्ति फरार नहुन्जेल त्यहाँ रहेकाहरू वन रक्षकहरूसँग विवाद र आक्रमणमै व्यस्त भए ।

‘उक्त समयमा उनीहरूले हामीलाई निकै तर्साउन खोजे, अपशब्द बोले अनि हातपात समेत गर्ने प्रयास गरे । मोबाइलबाट तस्बिर लिन अवरोध गरे पनि केही तस्बिर लिएका छौँ,’ गस्ती टोलीका कमान्डर चौधरीले भने, ‘वास्तवमा त्यो घटना हाम्रा लागि डरलाग्दो बन्यो ।’ उनीहरूले वन रक्षकहरूलाई विवादमा अल्झाएर उत्खननमा संलग्न एस्काभेटर, जेसिबी र टिपर त्यहाँबाट भगाउन सफल त भए ।

तर, केही मिटरको दुरीमा पुगेपछि वन रक्षकहरूले एस्काभेटर भने नियन्त्रणमा लिए । त्यसपछिको स्थिति भने थप डरलाग्दो बन्यो ।‘एस्काभेटर नियन्त्रणमा लिएर अगाडि बढ्ने क्रममा तस्करका झन्डै १ दर्जन गुन्डा आएर अवरोध गर्न थाले । हाम्रो गस्ती टोलीमा जम्मा ६ जना मात्र थिए,’ जिल्ला वन कार्यालय प्रमुख अजयकुमार मिश्रले भने, ‘त्यसपछि नियन्त्रणमा लिने हाम्रा जवानहरूको प्रयास असफल भयो र उनीहरूले आफ्नो नियन्त्रणमा लिएर गए ।’

देखादेखी अवैध धन्दा गरिरहेका उनीहरूले सरोकारवालासँग दादागिरी देखाउन खोजेको भन्दै प्रमुख मिश्रले दोषीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने अडान राखेका छन् । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि वन रक्षकहरूले प्रहरीको सहयोगसमेत मागेका थिए । त्यसपछि कार्यालय प्रमुख मिश्रले प्रमुख जिल्ला अधिकारीलाई खबर गरे पनि ढिला भएका कारण उनीहरू त्यहाँबाट भागिसकेका थिए । प्राकृतिक स्रोत दोहनका कारण वातावरण नै ध्वस्त बनिरहेका बेला रातारात हुने चोरी जनजीवनकै लागि चुनौती बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

त्यसपछि उदांगियो क्रसर व्यवसायीको कालो धन्दाघटनाको विषयमा थाहा पाएपछि जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, जिल्ला वन कार्यालय प्रमुख, जिल्ला प्रशासनका प्रतिनिधिहरू नेपाल प्रहरीसहित बिहानै घटनास्थलमा पुगिसकेका थिए । घटनास्थलमा पुगेपछि अनुगमनका लागि जिसस प्रमुख कर्णले गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई पनि घटनास्थलमा बोलाए ।

‘उत्खनन गरिएको ठाउँमा झन्डै ७ फिट गहिरो खाल्डो खनिएको थियो । बालुवाको सट्टा जमिनमा माटो निस्किएको थियो,’ प्रमुख कर्णले भने, ‘सबै जना घटनास्थल आएपछि यसको लेखाजोखातर्फ लाग्यौँ ।’ अनुगमन टोलीका अनुसार यहाँ अवैध उत्खननका कारण ५० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २.५ मिटर गहिरो खाल्डो बनेको छ । जहाँ पानी भरिएर कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने बताइएको छ ।

खाल्डोको मापन गर्दा एकै रातमा ३ हजार ७५० घनमिटर नदीजन्य पदार्थ निकालेर तस्करी भएको पाइएको थियो । मधेस प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खननमा तोकेको राजस्व प्रतिघनमिटर १५० देखि २०० रुपैयाँसम्म हिसाब गर्दा करिब साढे ७ लाख रुपैयाँ राजस्वसमेत गुमेको छ ।

रातारात यति ठुलो परिमाणमा तस्करी भएपछि अनुगमन समितिले गौशाला नगरपालिका क्षेत्रका क्रसर र वासिङ उद्योगहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा तस्करी गरेर ल्याइएको नदीजन्य सामग्री ‘जय माँ जाल्पा बालुवा गिट्टी वासिङ सेन्टर’, ‘महालक्ष्मी वासिङ सेन्टर’ र ‘सिद्धार्थ क्रसर उद्योग’ भण्डारण गरेको फेला परेको थियो । अनुगमन समितिले तिनै क्रसर व्यवसायीहरू नै तस्करीमा संग्लनता रहेको निष्कर्ष निकालेको छ ।

उद्योगहरूमा रहेको सामग्रीको परिमाण समेत मापन गरिएको छ । जय माँ जाल्पामा ४ हजार ३४४.१७ घनमिटर, महालक्ष्मी वासिङ सेन्टरमा १ हजार ८९७.५१ घनमिटर र सिद्धार्थ क्रसर उद्योगमा १ हजार १३६.४७ घनमिटर अवैध उत्खनन गरेको सामग्री रहेको अनुगमन समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुखले बलपूर्वक दण्डनीय कार्य गरी सार्वजनिक सम्पत्ति चोरी, हानि–नोक्सानी र वातावरणमा समेत क्षति पु¥याउने काम गरेकाले दोषीविरुद्ध कानुनी कारबाही अघि बढाउने बताएका छन् । यता, उपमेयर रेणुकुमारी महतोले पनि व्यवसायीहरूको संग्लनता पुष्टि भएकाले कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी छिन् ।

२०८१ पुष १८, बिहीबार ०७:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय