सप्तरी, जेष्ठ २२ गते । सप्तकोशी नदीमा बाढी तथा पहिरोबाट प्रभावितको उद्धारका लागि गरिएको अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई गोताखोर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलका जवान सूरज साऊद र हरदेव राजबंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार उनीहरू बिहीबार साँझ ४ बजे सप्तकोशी नदीमा अभ्यासका क्रममा हराएका हुन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले आयोजना गरेको बाढी तथा भूस्खलनमा उद्धार अभ्यासको क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको गेट नम्बर ५४ र ५५ को उत्तरतर्फ उनीहरू बगेर बेपत्ता भएका हुन्।
उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। खोजीका लागि सुनसरी र सप्तरीबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, उद्धार अभ्यास अत्यन्त संवेदनशील र जोखिमपूर्ण अवस्थामा सञ्चालन गरिएको थियो। बेपत्ता जवानहरूको सकुशल फिर्तीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीहरू समन्वयमा लागिपरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।















