शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति र तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन्।

मंगलबारदेखि सुरु गरिएको उक्त निरीक्षणका क्रममा पुस १ गते ४८ जना र पुस २ गते २४ जना कर्मचारी कारबाहीमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा पूर्वस्वीकृति बेगर अनुपस्थित रहेका तथा तोकिएको सरकारी पोषाक नलगाएका कर्मचारी फेला परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।कारबाहीमा परेका कार्यालयहरूमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, कृषि ज्ञान केन्द्र, प्रदेश वन निर्देशनालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय रहेका छन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यसैगरी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र, प्रदेश लेखा नियन्त्रक कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा समेत निरीक्षण गरिएको थियो।

कारबाहीमा परेका ७२ जनामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन्। तहगत रूपमा उपसचिव सरहका २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित ३४ जना कर्मचारी फेला परेका छन्, जसमा २२ जना पुरुष र १२ जना महिला छन्। यस्तै तोकिएको पोषाक नलगाएका ३८ जना कर्मचारी भेटिएका छन्, जसमा ३३ जना पुरुष र ५ जना महिला रहेका छन्। साथै २ जना कर्मचारी कार्यालयमा उपस्थित भए पनि हाजिर नगरेको र पोषाकसमेत नलगाएको पाइएको छ।

छड्के निरीक्षण गरिएका कार्यालयहरूमध्ये पशु सेवा तालिम केन्द्रका कर्मचारीहरू भने रुजु हाजिर र तोकिएको पोषाकमै उपस्थित रहेको जनाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्वस्वीकृति बिना अनुपस्थित तथा पोषाक नलगाएका कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिसकिएको छ।

प्रदेश सरकारले यस्ता निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी ७ वटा जिल्लामा पनि निरीक्षण टोली खटाउने तयारी गरेको जनाएको छ। आगामी दिनमा हाजिरी र पोषाकसँगै सेवा प्रवाह तथा विकास निर्माण कार्यको समेत निरीक्षण र अनुगमन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट पारेको छ।

२०८२ पुष ३, बिहीबार ०५:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय