रौतहट । रौतहटको कटहरीया नगरपालिकामा नगरको स्वामित्वमा रहेको JCB (ना १ ग ७३६) चार वर्षदेखि बेपत्ता भएको घटनाले स्थानीयस्तरमा तीव्र आक्रोश र विरोध उत्पन्न गरेको छ। स्थानीयवासी, नागरिक समाज तथा सरोकारवालाहरूले नगर प्रमुख अजय प्रकाश जैसवालको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल छानबिनको माग गरेका छन्।
उक्त JCB पूर्व मेयर शियाराम कुशवाहाको कार्यकालमा खरिद गरिएको बताइएको छ। तर हालसम्म सो उपकरण सार्वजनिक काममा प्रयोग भएको नदेखिएको र यसको अवस्थाबारे कुनै आधिकारिक जानकारी नदिइएको भन्दै पारदर्शितामाथि प्रश्न उठेको छ। स्थानीयका अनुसार, JCB मात्र होइन, नगरपालिकाका अन्य सवारी साधनहरू समेत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन्।
शुभकामना

नगर प्रमुख जैसवालमाथि जनताको सम्पत्तिको संरक्षणमा लापरवाही गरेको, जिम्मेवारीबाट पन्छिएको तथा पारदर्शिता कायम गर्न असफल भएको आरोप लागेको छ। “जनताको करबाट खरिद गरिएको उपकरण चार वर्षसम्म बेपत्ता हुनु सामान्य होइन, यो गम्भीर लापरवाही वा भ्रष्टाचारको संकेत हो,” एक स्थानीयले बताए।
यस घटनाले नगरपालिकाको सुशासन, उत्तरदायित्व र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। नागरिकहरूले तत्काल छानबिन समिति गठन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। साथै, कुनै अनियमितता प्रमाणित भए दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने उनीहरूको जोडदार माग छ।
यो विषय अहिले सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म व्यापक रूपमा उठ्न थालेको छ। स्थानीय अगुवाहरूले चेतावनी दिँदै भनेका छन् कि यदि चाँडै सत्य सार्वजनिक गरिएन भने चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।
यस प्रकरणले स्थानीय सरकारप्रतिको जनविश्वासमा असर पारेको भन्दै जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूले निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने माग चर्किएको छ।














