लहान, सिराहा । लहान नगरपालिका वडा नं. १८ भदैया (बिसनपुर) मा दूध उत्पादन तथा बजारीकरणलाई सहज बनाउने उद्देश्यले दूध संकलन केन्द्र स्थापना गरिएको छ। एक कार्यक्रमबीच लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी ले केन्द्रको विधिवत उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो।
खेमकुमारी सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उद्घाटनसँगै २० जना कृषकलाई दूध संकलन तथा ढुवानीमा सहयोग पुग्ने उद्देश्यले दूध क्यान समेत वितरण गरिएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष तेजनारायण चौधरी, कृषि तथा पशु विकास शाखाका प्रतिनिधि, राष्ट्रिय कृषक समूह महासंघ नेपाल का प्रदेश संयोजक दिलीप साह, संरक्षण परियोजना प्रमुख शोभा पासवान, कृषि प्राविधिक गणेश कुशवाहा, सामुदायिक वन उपभोक्ता समूह का कार्यक्रम अधिकृत तेकेन्द्र शाह, अमृतपान कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति, सेयर सदस्य तथा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दूध संकलन केन्द्र स्थापना तथा आवश्यक सामग्री व्यवस्थापनका लागि राष्ट्रिय कृषक समूह महासंघ नेपाल ले ८० प्रतिशत र अमृतपान कृषि सहकारी संस्था लिमिटेड ले २० प्रतिशत लागत साझेदारी गरेका छन्।
कार्यक्रमका वक्ताहरूले दूध संकलन केन्द्र सञ्चालनमा आएपछि स्थानीय दुग्ध उत्पादक कृषकहरूलाई दूध बिक्री तथा बजारीकरणमा सहजता हुने, आयआर्जनमा वृद्धि हुने तथा दुग्ध व्यवसायको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।



















