सप्तरी, चैत १ गते । १० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले जन्मकैद सजाय सुनाएको छ।
सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई अदालतले जन्मकैद सजाय सुनाएको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैद हुने फैसला सुदाएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए।
अभियुक्त साहले बालिकालाई २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए। पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन्। बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई २०७८ फागुन २२ गते पक्राउ गरेको थियो।
जिल्ला अदालतमा २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।
यस्तै सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई सात वर्ष कैद सजाय भएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय हुने फैसला गरेको हो।
आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी पोखरेलले जानकारी दिए।
आरोपित ०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।















