फोकस नेपाल ,चैत्र ३ गते । मोरङमा एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले शनिबार राति १०ः४५ बजेतिर एम्बुलेन्स दुर्घटनामा परेको जानकारी दिए ।
दुर्घटनामा एम्बुलेन्सका चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको लम्सालले बताए ।
एम्बुलेन्स दुर्घटनामा परेको जानकारी पाउनसाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाका इन्चार्ज एवं सइ (प्रहरी नायव निरीक्षक) भुवन श्रेष्ठ नेतृत्वको टोलीले गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो ।इन्स्पेक्टर लम्सालका अनुसार अस्पताल पुर्याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए । उनका अनुसार एम्बुलेन्स कहाँबाट कहाँ गएको थिाये भन्ने खुल्न सकेको छैन ।
दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।















