जनकपुरधाम, बैशाख २७ गते । जनकपुरधाम उपमहानगरभित्र संचालनमा रहेका सरकारी विद्यालयहरुलाई शिक्षा,युवा तथा खेलकुद विकास शाखाको प्रमुख अन्जु पाण्डेयले ईङ्गलिस मेडियम तथा नेपाली मेडियमको नाउँमा कुनै पनि किसिमको शुल्क विद्यार्थीहरुबाट नलिन कडा निर्देशन दिनु भएको छ ।
शैक्षिक सत्र २०८३ मा विद्यार्थी भर्ना सँग सँगै कक्षा प्रारम्भ भएको अवस्थामा सामुदायिक विद्यालयहरुले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन—२०७५ तथा नियमावली २०७७ बमोजिम विद्यार्थीहरुसँग कुनै पनि प्रकारको शुल्क नलिई भर्ना तथा विद्यार्थीहरुलाई अध्ययन — अध्यापन गर्न गराउन २०८३ साल बैशाख २५ गते प्रकाशित सूचनामा प्रष्ट लेखिएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

साथै अभिभावक वा अरु कसैले स्वेच्छाले विद्यालयलाई सहयोग गर्न चाहेमा विद्यालयमा रहेको बैंक खातामार्फत मात्र त्यस्तो सहयोग प्राप्त गर्न र सोको अभिलेख राख्न तथा यसरी सहयोग गर्ने दाताहरुको विवरण नियमित रुपमा सार्वजनिक गर्न र उपमहानगरपालिका र सम्बन्धीत वडामा जानकारी गराउन हुन हस्ताक्षरित पत्रमा अनुरोध गरिएको छ ।
यस अघि विभिन्न पत्रपत्रिका तथा प्रत्यक्ष रुपमा समेत सामुदायिक विद्यालयहरु श्री गोगल प्रसाद नमूना मा.वि.बसहिया,श्री संकटमोचन मा.वि. तथा श्री याज्ञबाल्क्य संस्कृत मा.वि.जनकपुरधामको बारेमा अभिभावकहरुबाट अबैध रुपमा मनपरी मासिक शुल्क,बस भाडा तथा अन्य शुल्क भनेर लिने गरेको तथ्य बाहिरिए पछि जनकपुरधाम उपमहानगरको शिक्षा,युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै यस किसिमको कार्य नगर्न कडा निर्देशन दिएको हो । साथै अभिभावकहरुले तत्काल यस वर्ष बुझाएको शुल्क फिर्ता गर्न जोडदार माँग गर्नुका साथै यसको समन्वय जनकपुरधाम उपमहानगर शिक्षा शाखाले गरिदिन आग्रह गरेका छन् ।
















