शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार ०५ गते । सिरहाको औरही गाउँपालिका १ दरहियास्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) का प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरेको तालाबन्दीका कारण तिन दिनदेखि पठनपाठन प्रभावित बनेको छ।

विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवले कक्षाकोठामै विद्यार्थीहरूसँग अशोभनीय व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्ने तथा पढाउनुपर्ने विषयवस्तुभन्दा राजनीतिक गतिविधिमा बढी संलग्न हुने गरेको आरोप लगाउँदै विद्यार्थीहरूले असार ३ गते नै प्रधानाध्यापकको कार्यालयमा तालाबन्दी गर्दा पठनपाठन प्रभावित भएको हो।

शुभकामना

तालाबन्दीपछि समस्या समाधानका लागि पहल गर्नुको सट्टा प्रधानाध्यापकले घटनालाई बेवास्ता गर्दै आफ्ना निकट विद्यार्थीहरूलाई उचालेर विद्यालयको शैक्षिक वातावरण थप बिगार्ने प्रयास गरेको स्थानियहरुको गुनासो छ। स्थानीय युवा धर्मेन्द्र यादवका अनुसार विद्यार्थीहरूले कार्यालयमा तालाबन्दी गर्दा प्रधानाध्यापक कुनै प्रतिक्रिया नदिई विद्यालयबाट बाहिरिएका थिए। विद्यालयमा यस्तो अवस्था सिर्जना हुँदा प्रधानाध्यापकले जिम्मेवारिपुर्वक समस्या समाधानतर्फ लाग्नुपर्ने हो। तर उहाँकै व्यवहारका कारण आज पनि पठनपाठन हुन सकेन उनले भने।´

अभिभावक प्रमोद यादवले विद्यालयमा शिक्षण गतिविधिभन्दा राजनीतिक प्रभाव बढ्दै गएको आरोप लगाए। एक समय यही विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू डाक्टर, शिक्षक लगायत विभिन्न क्षेत्रमा सफल भएका थिए। तर पछिल्लो दुई वर्षयता विद्यालयको शैक्षिक अवस्था निकै कमजोर बनेको बताए।

यता, विद्यालयमा दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको विषयमा प्रतिक्रिया लिन प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवसँग सम्पर्क गर्न खोजिए पनि उनी सम्पर्कमा आउन चाहेनन्।

औरही गाउँपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी सन्तोष यादवले भने घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको बताए। तपाईंको फोनमार्फत पहिलो पटक जानकारी पाएँ। न प्रधानाध्यापकबाट न विद्यार्थीबाट कुनै जानकारी आएको छ। वास्तविक अवस्था बुझेर आवश्यक कदम चाल्छौं,´उनले भने।

यसैबीच, हालै सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा चार जना अभिभावक चयन भए पनि उनीहरू प्रधानाध्यापक निकट नरहेको कारण विद्यालयभित्र विवाद सिर्जना गरिएको स्थानीयवासीहरूको आरोप छ।विद्यालय जस्तो संवेदनशील संस्थालाई राजनीतिक अखडा बनाउने प्रवृत्तिले विद्यार्थीको भविष्यसंग खेलवाड गर्ने गरेको उनीहरूको भनाइ छ।

विद्यालयको इमिसमा ७ सय विद्यार्थी रहेपनि उक्त विद्यालयमा करिव ४ सय छात्रछात्रा उपस्तिथि हुने गरेको शिक्षकहरु नै बताउँछन् ।

स्थानीय अभिभावकहरूले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी विद्यालयको शैक्षिक वातावरण तत्काल सामान्य बनाउन माग गरेका छन्।

 

२०८३ असार ५, शुक्रबार ११:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय