फोकस नेपाल ,बैशाख १७ गते । दुई बर्षअघि गरेको काम वापतको भुक्तानी हालसम्म नपाएपछि निर्माण व्यवसायीले मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवलाई घराउ गरेका छन् ।
भुक्तानी माग्न आएकालाई आफ्नो निवासमा बसाएर मुख्यमन्त्री कार्यालयतर्फ जान लागेका अर्थमन्त्रीलाई निर्माण व्यवसायीले घेराउ गरेका हुन् ।
दुई बर्षअघि नै गरिएका कामको भुक्तानी नदिएपछि निर्माण व्यवसायी निरन्तर मुख्यमन्त्रीको कार्यालयसहित बिभिन्न मन्त्रालय धाइरहेका छन् । मंगलबार पनि निर्माण व्यवसायी मुख्यमन्त्री सरोज यादवलाई भेटे ।मुख्यमन्त्री यादवले उनीहरुलाई अर्थमन्त्री यादवलाई भेट्न भने । यसपछि अर्थ मन्त्री आफ्नै निवासमा रहेको थाहा पाएपछि निर्माण व्यवसायी त्यहीं पुगे ।
शुभकामना

अर्थमन्त्री यादवले निर्माण व्यावसायीहरुलाई बस्न लगाएर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हिड्न लागेका थिए । यो जानकारी पाएपछि निर्माण व्यावसायीहरु अर्थमन्त्रीको गाडी घेराउ गर्दा दुबै पक्षबीच केहि बेर चर्काचर्की नै भयो ।
भुक्तानीको समस्या समाधान गर्न दबाब दिएपछि अर्थमन्त्री यादवले सर्लाहीबाट गुण्डा बोलाएर धम्काउन लगाएको निर्माण व्यवसायीको आरोप छ ।
निर्माण व्यवसायीले अर्थ मन्त्रीलाई घेराउ गरेपछि यो बिषय मन्त्रीपरिषद् बैठकको एजेन्डा बन्यो । अर्थमन्त्री यादवले पुरानो भुक्तानी क्लियर गर्नुपर्ने बताएपछि मुख्यमन्त्री यादवले बैठकमै सबै सचिवलाई फायलसहित बोलाएका थिए ।बैठकबाट बाहिरिँदै अर्थमन्त्री यादवले भुक्तानीको समस्या समाधान गर्न छलफल भएको भन्दै दुई÷तीन दिनभित्रै समाधान हुने आश्वासन निर्माण व्यवसायीहरुलाई दिए ।
विभिन्न ३८ योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी छ । विभिन्न योजनाहरुको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसाहरुको गुनासो छ ।
निर्माण व्यावसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले बिहीवार क्याविनेट बैठक रहेको र सो बैठकबाटै भुक्तानीको समस्या समाधान हुने भनेर मुख्यमन्त्रीले पनि आश्वासन दिएको बताए ।
उनले बिहीबारसम्म समस्या समाधान नभए आन्दोलन सुरु गर्ने बताए । उनले भने, ‘बजेट अधिवेशन समेत चल्न दिदैनौं । अब हामी मर्छौं कि मार्छौं ।’














