शिव मारुती ज्वेलर्स

महोत्तरी, कात्तिक ५ गते । एमाले छाडेका प्रभु साहले महोत्तरीमा गएर स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ता असन्तुष्ट बनेका छन्।

एमालेको टिकट त्यागेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ।

शुभकामना

तर, माओवादी र गठबन्धनले रौतहटमा उनलाई समर्थन गर्ने निर्णय गरे पनि साहले भने महोत्तरीमा पुगेर माओवादी नेता गिरिराजमणि पोखरेललाई ‘जसरी पनि हराउनुपर्छ’ भन्दै स्वतन्त्र उम्मेदवार पोषण थापालाई समर्थन गरेको पाइएको माओवादीका केन्द्रीय सदस्यसमेत रहेका महोत्तरी संयोजक तुलसी ढुंगानाले बताए।

‘हाम्रो पार्टीले रौतहटमा उनीलाई समर्थन गर्ने भएपछि माओवादीप्रति उनको दृष्टिकोण पनि सकारात्मक हुनुपर्यो नि,’ ढुंगानाले भने, ‘उनले हाम्रो क्षेत्रमा आएर माओवादी उम्मेदवारलाई समर्थन नगरी स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नुहुन्छ भने रौतहट पार्टीले पनि उहाँलाई मत दिनु जरुरी हुँदैन।’

केही दिनअघि बर्दिबासको गौतम होटलमा साहले स्वतन्त्र उम्मेदवार पोषण थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीसहितको टिमलाई भेटेर आफ्नो समर्थन माओवादी उम्मेदवारलाई नभएर स्वतन्त्र उम्मेदवारलाई रहने भन्दै हौस्याएका थिए।

‘संयोगले मेरो चुनाव चिह्न र उनको चुनाव चिह्न एउटै (चापाकल) परेछ,’ महोत्तरी १ मा स्वतन्त्र उम्मेदवारी दिएका थापाले भने, ‘भेटमा हामीबीच एकअर्कालाई सहयोग गर्ने समझदारी भएको छ। तपाईंको चुनावमा कसरी सहयोग गर्न सकिन्छ, म सबै ढंगले मेहनत गर्छु भन्ने आश्वास पनि उनले हामीलाई दिएको छ।’

तिहारपछि बर्दिबासमा आयोजना हुने जनसभामा साहले सम्बोधन गरेर मत माग्नेसमेत समझदारी आफूहरुबीच भएको थापाले जानकारी दिए। ‘उनले मेरा लागि स्पेसल कार्यक्रम बनाउनुस्, म आएर सम्बोधन गरौँला भनेको छ,’ थापाले भने, ‘निर्वाचन आयोगले जनसभाका लागि अनुमति दिएको समयमा हामी उनको सम्बोधनका लागि एउटा कार्यक्रम बनाउँने छौँ। उनले आएर सम्बोधन गर्नुहुनेछ।’

प्रभु साह बर्दिबास जाँदा स्वतन्त्र उम्मेदवारलाई भेटे पनि आफ्ना पूर्वसहकर्मी पोखरेललाई भने नभेटी फर्किए।

‘त्यतिबेला गिरिराजमणि पनि बर्दिबासमै हुनुहुन्थ्यो,’ माओवादीका एक नेताले भने, ‘तर प्रभु साहले उहाँलाई फोनसमेत गर्नुभएन। विपक्षी उम्मेदवारलाई भने विजयका लागि शुभकामना दिएर जानुभएछ। यस्तो असंगत राजनीतिले उहाँको पनि भलो गर्दैन।’

आज (शनिबार) जनकपुर आउन लागेका माओवादी अध्यक्ष प्रचण्डलाई पनि प्रभु साहको विषयमा जानकारी गराउने तयारी माओवादी नेताहरुले गरेका छन्। पाँच दलीय गठबन्धनले जनकपुरमा गर्न लागेको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रचण्डसहितका नेता आज जनकपुर आउँदै छन्।

माओवादी केन्द्रले रौतहटमा प्रभु साहलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाउने निर्णय गरेको छ। तर, रौतहट ३ का माओवादी उम्मेदवार धिरज पटेलले भने अझै प्रभु साहलाई समर्थन गर्न मानेका छैनन्।

‘रौतहटमा अझै प्रभु साहलाई हाम्रा उम्मेदवारले समर्थन गर्न मानिरहनु भएको छैन,’ रौतहटका एक माओवादी नेताले भने, ‘यस्तो अवस्थामा प्रभु साहले मधेसका विभिन्न ठाउँमा पुगेर माओवादी उम्मेदवारलाई हराउने गरी गतिविधि गरेको सूचना हामीले पनि पाएका छौँ। यस्तो अवस्थामा हामीले उनलाई समर्थन गर्नुको अर्थ रहँदैन।’

प्रभु साहले रौतहट ३ मा चुनाव लड्न एमालेबाट टिकट पाएका थिए। तर, असोज २३ गते मनोनयन दर्ता गर्ने दिन अन्तिम समयसम्म टिकट होल्ड गरेर उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए। साहले टिकट होल्ड गर्दा यो क्षेत्रमा एमाले उम्मेदवारविहीन भएको छ।

२०७९ कार्तिक ५, शनिबार ०९:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय