कञ्चनपुर,असोज २४ गते । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखु खेती गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । ‘दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ’, उनले भने, ‘हात्तीका कारण डेढ लाख घाटा व्यहोर्नुपरेको छ ।’
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घरनजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताइन् ।
‘हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे’, उनले भनिन्, ‘हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याएपछि मात्रै वडा कार्यालयले पुनः बत्ती जडान गरेको छ ।’ रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ ।
वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ । ‘सात कठ्ठा जग्गा मात्रै स्वामित्वको हो’, उनले भने, ‘पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्याे, जग्गामा लगाएको धानले ६ महिना खान पुग्दथ्यो, अब वर्षभरिकै लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो ।’
भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए । निकुञ्ज छेउकै बस्ती भएकाले हात्ती लगायतका जङगली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे ।
वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए । ‘हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ’, उनले भने, ‘राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ ।’ रासस















