महोत्तरी । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाएर काम गर्नुपर्ने बताएका छन् ।
महोत्तरीको बर्दिबासमा चलिरहेको स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलन छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सिंहले जलवायु परिवर्तनको असर कम गर्न ठोस योजाना बनाउनुपर्ने बताएका हुन् ।
शुभकामना

संघ प्रदेश र स्थानीय सरकारले ठोस योजना बनाएर अन्य निकायसँग समन्वय गर्दै सबै मिलेर काम गर्न सके जलवायु परिवर्तनका असर कम गर्न सकिने सिंहले बताए ।
मधेसमा चुरे क्षेत्रको संरक्षण, नदीलाई बचाउने अभियान चलाउँदै जलवायु परिवर्तनले पारेका यसका असर न्यूनीकरणका लागि अभियननै आवश्यक भएको मुख्यमन्त्री सिंहले बताए ।
मधेसका अधिकांश भूभागमा लगाइएका मसला (भिक्स) का रुख हटाउने सन्दर्भमा सम्मेलनमा उठेको सवालमाथि मुख्यमन्त्री सिंहले पहिले अन्य बिरुवा लगाएर मात्र मसलाको रुख हटाउने योजना बनाउन पालिकालाई अनुरोध गरे ।
‘अन्य विपद् निम्त्याउने गरि भिक्सका रुख हटाउन हुन्न,’ सिंहले भने, ‘विपद र जोखिम कम हुनेगरी पहिले अनुकुलन हुने विरुवा लगाउने हाम्रो योजना हुनुपर्छ ।’
‘खोला संरक्षण भन्दा खन्न पाउनुपर्छ भन्दै दबाब आइरहेको हुन्छ,’ सिंहले भने, “नियम कानुनभन्दा बाहिर गएर काम गर्नेले नै थप दबाब दिने गरेका छन् ।’
प्रकृतिलाई क्षति पुर्याउने कार्य कम गरी सबै मिलेर संरक्षण गर्न लागेमात्रै सबै सम्पूर्ण विश्वसँगै नेपाललाई समेत परेको जलवायु परिवर्तनको असर कम गर्न सकिने मुख्यमन्त्री सिंहले बताए ।














