जलेश्वर । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप जलेश्वरमा पुनः सल्बलाएको छ । पछिल्लो समय सांसद डा. अमरेश सिंहले सदनमै चर्चा गरेको बतास ग्रुप अधीनस्त नेपाल मणिपालले स्टाफ भवन, मुख्यद्वार र गार्ड भवनको सोमबार शिलान्यास गरेको हो। जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार र नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपका योजना प्रमुख सञ्जय गुप्ताले सोमबार संयुक्त रूपमा पूजा गरी योजनाको शिलान्यास गरेका हुन्।
शिलान्यासपश्चात् योजना प्रमुख गुप्ताले काम सुरु भैसकेपछि स्टाफहरू बस्न आवश्यक भौतिक संरचना जस्तै, मुख्यद्वार, स्टाफ तथा गार्ड भवन बनाउन लागेको बताए। उनले तीन महिनाभित्र यी संरचना तयार भैसक्ने बताए।
शुभकामना

मेडिकल कलेज कहिले बन्ने भन्ने जिज्ञासामा उनले अनुमति प्राप्त गर्न मेडिकल कलेज बन्नुभन्दा पहिले अस्पताल बनाउनुपर्ने बताए। अस्पतालको लागि नक्सा प्रक्रियामा रहेको उनको भनाइ छ। उनले तीन सय शय्याको अस्पताल प्रपोज भएको र त्यसकै प्रक्रिया चलिरहेको बताए।
जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले समेत पटक-पटक आफू पोखरा नै पुगेर कुरा राखिसकेको बताउँदै नगरपालिकाको तर्फबाट मेडिकल कलेज स्थापनार्थ पूर्ण दबाब सिर्जना गरिरहेको बताए। उनले हाललाई तीन सय शय्याको अस्पताल सञ्चालनकै लागि प्रक्रिया चलेको जानकारी पाएको बताए। सोही थप संरचनासहित मेडिकल कलेजमा रूपान्तरण हुने आशा व्यक्त गरे।
जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले पटक-पटक जलेश्वर र यस भेगका जनता ठगिएकोमा यसपटक आफूहरूले पूर्ण निगरानी राखिरहेको बताए। उनले मणिपालले पूर्वतयारीअनुरूप गेट र भवनहरू निर्माण थाल्नु सकारात्मक रहेको थपे।
जलेश्वरमा वर्षौँ पहिले कम मूल्यमा यहाँको ३५ बिघाभन्दा बढी जग्गा मणिपालले खरिद गरेर राखेको छ। निर्वाचनताका नेताहरूले समेत मणिपाललाई चुनावी प्रतिबद्धतापत्रमा प्राथमिकतासाथ स्थान दिएका थिए।















