महोत्तरी, जेष्ठ ०७ गते । महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा देवाडमा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। मृतकका माइती पक्षले दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।
मृतक रञ्जिता मण्डल सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी हुन्। उनको विवाह २०८२ साल फाल्गुण १४ गते महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो। विवाह भएको ८३ दिन नपुग्दै उनको मृत्यु भएपछि घटना शंकास्पद बनेको हो।
शुभकामना

परिवारका अनुसार मंगलबार साँझ रञ्जिताले पासो लगाएर आत्महत्या प्रयास गरेको भन्दै उनका श्रीमानले उनलाई तत्काल जानकी एकेडेमिक अस्पताल पुर्याएका थिए। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
तर मृतककी आमा कौशिल्या देवी मण्डलले आफ्नी छोरीको हत्या गरिएको दाबी गरेकी छन्। उनका अनुसार केही दिनअघि मात्रै छोरीसँग फोनमा कुरा हुँदा ससुराली पक्षले “माइतबाट भैंसी दाइजोमा लिएर आउ” भन्दै दबाब दिएको बताएकी थिइन्। उनले विवाहका बेला नगद १० लाख रुपैयाँसहित सुनचाँदी लगायतका सामग्री दाइजो दिएको दाबी गर्दै त्यसपछि पनि थप दाइजो माग्दै छोरीमाथि पटक–पटक कुटपिट हुँदै आएको आरोप लगाइन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख हेरम्ब शर्माले मृतकका श्रीमानलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले हत्या वा आत्महत्या भन्ने विषय पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने बताए।
प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ।
यता महिलाको मृत्यु भएपछि ससुराली पक्षका अधिकांश सदस्य सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ भने मृतकका परिवारजनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।














