जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत १५ दिने यात्रामा रहेकाहरू आज पुनः जनकपुरधाम फर्किएका छन्। उनीहरू हिजो १४औं दिन भारत बिहारको विसौलमा विश्राम गरेपछि आज बिहिबार जनकपुरधाम आईपुगेका हुन् ।
जनकपुरधाममा प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक रंगभूमी मैदान बाह्रबिघा, तिरहुतिया गाछी, गंगा सागरको डिल तथा अन्य विभिन्न मठ मन्दिरहरुमा विश्राम गर्ने छन् ।
यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८ कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट शुरू भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो।
शुभकामना

फागुपूर्णिमाको अवसरमा आज बिहिबार जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि शुक्रबार अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाइ मिथिलाञ्चलमा ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू यसमा सामेल भई १५ दिन परिक्रमा धुमेको बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ ।


१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फूलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म एक सय ३३ किलोमिटरको यात्रा गरिन्छ ।भोलि शुक्रवार परिक्रमा समापन भएसँगै पर्सि शनिवार मिथिलाञ्चलभरी होली पर्व उल्लासका साथ मनाइने छ ।















