पवन प्रसाद साह/वीरगञ्ज । रंगहरूको पर्व फागु पूर्णिमा (होली) वीरगञ्ज लगायत तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यता अनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बिहिबार नै फागु पूर्णिमा मनाइएको छ । तर, मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।
स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।
शुभकामना

पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।
यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।














