फोकस नेपाल ,असार १२ गते । सिरहाको कर्जन्हा नगरपालिकामा सडक ढलान कार्यमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गरिरहेका बेला समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि कुटपिट भएको छ ।
रेडियो धनुषाधामका समाचारदाता गोविन्द यादव बिहीबार कर्जन्हा नगरपालिका–६ स्थित मरेवा बजारदेखि खोला टोलसम्म भइरहेको आरसिसी सडक ढलानको विषयमा समाचार संकलन गर्न पुगेका बेला उनीमाथि आक्रमण भएको हो । कुटपिटबाट पत्रकार यादवको टाउकोमा चोट लागेको बताइएको छ ।
शुभकामना

पत्रकार यादवकाअनुसार निर्माणाधीन सडकको गुणस्तरका विषयमा स्थानीयवासीले उठाएका गुनासा तथा त्यसबारे सम्बन्धित पक्षको धारणा बुझ्न कर्जन्हा नगरपालिका–७ का वडाध्यक्ष रामसेवक यादवसँग प्रतिक्रिया लिने क्रममा वडाध्यक्षका छोराले कुटपिट गरेका हुन् ।
स्थानीयवासीका अनुसार मरेवा टोल जाने मुख्य सडकको आरसिसी ढलान कार्यमा कमसल निर्माण सामग्री प्रयोग गरिएको भन्दै उनीहरूले सुरुदेखि नै विरोध जनाउँदै आएका छन् । निर्माण कार्य गुणस्तरहीन भएको आरोप लगाउँदै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
निर्माणस्थलमा राखिएको बोर्डको अभिलेखअनुसार उक्त योजना केमिका कन्स्ट्रक्सन, जनकपुरधाम मार्फत निर्माण भइरहेको हो । आयोजनाको स्वीकृत लागत ५७ लाख ५२ हजार ३८९ रुपैयाँ रहेको छ । निर्माण सम्झौता २०८३ साल जेठ ७ गते भएको थियो भने असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
योजनाको निर्माण गुणस्तरबारे स्थानीयले प्रश्न उठाइरहेका बेला त्यससम्बन्धी समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको कुटपिटको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति चिन्ता बढाएको छ । घटनापछि पत्रकार यादवले आफूलाई समाचार संकलन गर्ने क्रममा निर्घात कुटपिट गरिएको भन्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।















