जनकपुरधाम, चैत १९ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित प्रगतिनगरमा मन्दिरको सार्वजनिक जग्गामा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवले राजनीतिक शक्तिको आडमा अवैध रूपमा धमाधम घर निर्माण गरिरहेका छन् ।
सांसद यादवका छोरा डा. अमित यादवले स्थानीयको विरोधका बावजुद २४सौं घण्टा कामदार खटाएर निर्वाध रुपले घर निर्माण गरिरहेका छन् ।
शुभकामना

स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिनुका साथै धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई सामूहिक ध्यानाकर्षण पत्र बुझाए पनि अवैध निर्माण रोक्न कसैले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
सार्वजनिक सम्पत्तिमा भइरहेको अवैध निर्माण कार्य रोक्न माग गर्दै आफूहरुले विभिन्न निकायमा ध्यानाकर्षण गराएपनि कसैले कुनै सुनुवाई नगरेको स्थानीय युवा उदय कुमार यादवले बताए । उनले सांसद यादवका छोरा अमितले मन्दिरको जग्गामा बलजफ्ती दिनरात नहेरि लगातार तिव्र गतिमा घर निर्माण गरिरहेको आरोप लगाए ।
विवादको सुरुवात २०६८ सालमा भएको थियो । जनकपुरधाम–८ बिहार कुण्डस्थित विजय राघव कुञ्जका पूजारी रामसागर दासले मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा सांसद यादवलाई बेचेका थिए । पूजारी दासले मनखपको कागजमार्फत वार्षिक ४० किलो धान बुझाउने शर्तमा मन्दिरको नाममा रहेको सिट नम्बर १६९–१२७५–२४ को ६ कट्ठा ५ धुर ३ कनमा जग्गा सांसद यादवलाई २२ लाख रुपैयाँमा बेचेको स्वीकार गरिसकेका छन् ।
स्थानीयले भने मन्दिरको सार्वजनिक जग्गा समुदायको साझा सम्पत्ति भएको र कुनै पनि अवस्थामा यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न नदिने बताए । उनीहरूले सांसद यादवले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाए ।
स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा सोभित साह, विन्देश्वर यादव, महेन्द्र यादव, जागेश्वर यादव, राम सरोज यादव, ललिता यादव लगायतका दर्जनौं स्थानीयले सार्वजनिक सम्पत्तिको संरक्षण र शान्ति सुरक्षाको माग राख्दै प्रशासनसँग तत्काल कदम चाल्न आग्रह गर्दै जिल्ला प्रशासनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिइसकेका छन् ।
सांसद यादव पक्षले भने मन्दिरको जग्गा वैधानिक रूपमा किनेको दाबी गरेको छ । पूजारी रामसागर दासले पनि मन्दिरको नाममा रहेको उक्त जग्गा सांसद यादवलाई बेचेको पुष्टि गरेका छन् । सांसद यादवले जग्गा आफ्नो भएको र स्थानीयले यसलाई विवादास्पद बनाउन खोजेको आरोप लगाए ।
तर, स्थानीयले भने सांसद यादवले आफ्नो राजनीतिक हैसियत र शक्तिको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिमा व्यक्तिगत स्वार्थको लागि काम गरिरहेको आरोप लगाए । उनीहरूले जग्गा कुनै पनि हालतमा मन्दिरकै नाममा हुनुपर्ने र कुनै किसिमको खरिद–बिक्री हुन नसक्ने अडान राखेका छन् ।
स्थानीय बासिन्दाको विरोध र ध्यानाकर्षणका बावजुद पनि सांसद यादवका छोरा डा. अमित यादवले मन्दिरको सार्वजनिक जग्गामा धमाधम घर निर्माण कार्य जारी राखेका छन् । सो जग्गामा २४ घण्टाभरि कामदारहरू खटाएर निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
सांसद यादवको अवैध घर निर्माणमाथि रोक लगाउन माग गर्दै स्थानीयबासिहरुले अब उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गर्ने योजना बनाएका छन् ।














