दिपेश कुमार शाह ,रौतहट, जेठ १६ गते।
कटहरिया नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय डुमरिया, हथियाही (दो) ले विद्यालय स्वामित्वमा रहेका पुराना संरचनात्मक सामग्रीहरू सार्वजनिक मौखिक बोलकबोल (डाँका बढाबढ) प्रक्रियामार्फत पारदर्शी र कानुनी ढंगले विक्री गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी शंकर प्रसाद साहको अध्यक्षता तथा प्रधानाध्यापक नवल किशोर ठाकुरको उपस्थितिमा सम्पन्न बोलकबोल कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, पत्रकार, शिक्षा अभियन्ता तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शुभकामना

विद्यालयको ट्रस्ट भवन भत्किएपछि बाँकी रहेका सामग्रीहरूको व्यवस्थापन आवश्यक परेकाले, सार्वजनिक हितमा विक्री गर्ने निर्णय विद्यालयले गरेको हो।
विक्री गरिएका सामग्रीहरू यस प्रकार छन्:
सालको चौकठसहितको पुरानो ढोका – ४ थान (६.५x३ फिट)पुराना झ्याल – १२ थान (३x४ फिट)
फलामका पुराना पाइप – ४१ थान (१० फिट)
विभिन्न साइजका फलामका डन्डी तथा पाइपहरू
जस्ताका पाता – ८९ थान (ठूला तथा साना मिश्रित)
बोलकबोलमा सहभागी हुन इच्छुक व्यक्ति वा संस्थाले अनिवार्य रूपमा नेपाली नागरिकता प्रमाणित कागजात प्रस्तुत गर्नुपर्ने, प्रत्येक बोली न्यूनतम रु. ५,००० को वृद्धिमा मान्य हुने, र न्यूनतम मूल्यको कम्तीमा ५% धरौटी रकम विद्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको थियो।
बोलकबोल प्रक्रियामा स्थानीय तथा बाह्य इच्छुक व्यक्तिहरूको सहभागिता रहँदा कटहरिया नगरपालिका–९ निवासी रामचन्द्र राय यादवले सबैभन्दा उच्च रकम, रु. १,५०,००० (अक्षरेपी: एक लाख पचास हजार ) को प्रस्ताव पेस गरी डाँका स्वीकृत गराएका छन्।
उहाँले तोकिएको तीन कार्य दिनभित्र सम्पूर्ण रकम विद्यालयको आधिकारिक बैंक खातामा जम्मा गर्नुपर्नेछ। यदि तोकिएको समयभित्र रकम नजम्मा भएमा दोस्रो उच्च बोली प्रस्तावकलाई मौका दिइनेछ।
यस प्रक्रियामा कटहरिया नगरपालिकाका शिक्षा संयोजक सुरेन्द्र ठाकुर, , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक प्रतिनिधिहरू, महिला सदस्यहरू, पालक प्रतिनिधिहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
विद्यालयले सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र कानुनी ढंगले सम्पन्न गरिएको जानकारी गराउँदै आगामी दिनमा यस्ता प्रक्रियामा इच्छुक पक्षहरूलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।














