शिव मारुती ज्वेलर्स

महोत्तरी । साना सवारी आवतजावतको जक्सन मात्रै होइन, पहाड र मधेशबाट घर बनाएर बसोबास गर्ने नयाँ सहर पनि बनेको छ– बर्दिबास । होटल र अस्पतालले गुल्जार बन्नुका साथै बसोबासको भीडमा नयाँ घरसँगसँगै लागूऔषधको धन्दा पनि यहाँ उत्तिकै फस्टाएको छ ।

दुई दशकअघिसम्म पूर्व–पश्चिम राजमार्ग खण्डको चोकमात्रै थियो– बर्दिबास । पानीको समस्याले यहाँ बासोबास मुस्किल थियो । काठमाडौसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालन भएपछि बर्दिबास पूर्वबाट काठमाडौं पुग्ने मुख्य राजमार्गमा परिणत भएको हो ।

शुभकामना

लागूऔषध तस्करी यहाँ पछिल्लो समय अपराधकै रूपमा मौलाएको छ । बस बिसौनी चोक बजार हुँदै सहरमा परिणत हुँदा बर्दिबास भारतबाट लागूऔषध काठमाडौं पुर्‍याउने र पहाडको गाँजा भारत तस्करी गर्ने ‘ट्रान्जिट प्वाइन्ट’ पनि बनिरहेको छ ।

भारत तस्करी हुने गाँजा र भारतबाट ल्याइएको लागूऔषध काठमाडौं पुर्‍याउन बर्दिबास आसपासमा गोदाम नै राखिएको प्रहरी स्रोतको दाबी छ । बर्दिबासका स्कुल र सामान्य घर लागूऔषधको चपेटामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बम बताउँछन्

‘नाम चलेका स्कुलका विद्यार्थी गाँजा सेवन गर्ने, पसला–पसलमा सहजै पोकामा गाँजा उपलब्ध हुने र घरघरमा १०/२० किलो गाँजा राखेको सूचना आउने गरेको छ,’ डीएसपी बमले भने, ‘लागूऔषध तस्करको बलियो सञ्जाल छ । हामी नियमित जाँच र गस्ती गर्दा चार चक्के गाडीबाट गाँजा बरामद हुन थालेको छ । नियमित जाँचमा फुटकर र सानो परिमाणको गाँजा फेला पर्ने गरेको छ ।

लागूऔषधको चपेटामा परेको बर्दिबासलाई जोगाउन सचेतना अभियानको खाँचो रहेको उनले बताए । स्कुले विद्यार्थी गाँजासहित पक्राउ गरी अभिभावकको जिम्मा लगाउनुका साथै पक्राउ परेका कारोबारी र तस्करलाई कारोबार छोड्न कक्षा सञ्चालन गरिएको उनले सुनाए ।

नेपाल–भारतको खुला सिमानाका कारण नेपाली युवा भारततर्फ गएर प्रतिबन्धित औषधि सेवन गर्ने तथा बिक्रीका लागि नेपाल भित्र्याउने र चुरे क्षेत्रमा उत्पादन भएको गाँजा बर्दिबास आसपासमा भण्डारण गरी भारततर्फ तस्करी हुँदै आएको प्रहरीको दाबी छ । बर्दिबासबाट गौशाला, रामगोपालपुर र जलेश्वर नाकाबाट भारततर्फ गाँजा लिएर जाँदै गरेको स्कार्पियो, दुई कार र मोटर साइकलसहित ठूलो परिणामको गाँजा महोत्तरी प्रहरीले भरियासहित बरामद गरेको छ ।

गत शुक्रबार बर्दिवास–११ का ३१ वर्षीय रंगलाल सेङतानलाई माईस्थानबाट गौशालातर्फ आउँदै गरेको बा ०१–०३० च ७८०५ नम्बरको सेतो रंगको ईभी कारबाट ८ वटा पोकाभित्र राखेको ४० किलो गाँजासहित पक्राउ गरिएको छ । शुक्रबार नै दोलखा बैदेश्वरी गाउँपालिका–६ का २६ वर्षीय दीपक दाहाललाई महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बर्दिबास जलेश्वर सडकस्थित रामगोपालपुर चोकमा बीएसी ८७३९ कारको डिक्कीबाट १०७.९ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार राति बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र.२–०२–००१ प ६६६२ नम्बरको मोटरसाइकमा राखिएको २० किलो गाँजासहित बर्दिबास नगरपालिका–१३ का ४६ वर्षीय शिवनारायण चौधरी र मनराशिस्वा नगरपालिका–१० का ४० वर्षीय अजमैरी खातुन पक्राउ परेका छन् । प्रहरीले बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक हस्पिटलअगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो रंगको स्कार्पियोबाट ३० पोकामा १५८ किलो गाँजासहित सर्लाही हरिवन–५ का ३५ वर्षीय लालबाबु साह र हरिवन–३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियारलाई पक्राउ गरेको छ ।

पछिल्ला चार दिनमा महोत्तरी प्रहरीले गोप्य सूचनाका अधारमा जलेश्वरमा मोटरसाइकल, रामगोपालपुर र गौशाला रोडमा कार र बर्दिबासमा स्कार्पियो प्रयोग गरी बर्दिबासबाट भारततर्फ लैजाँदै गरेको गाँजासहित पक्राउ परेका घटना उदाहरण मात्रै हुन् । महोत्तरीका नाकाबाट दिनहुँ गाँजा तस्करी भइरहेको छ । प्रहरीले तस्करी हुन लागेको सूचना पाएर बरामद गरेको गाँजाको परिमाण बर्सेनि बढ्दो छ ।

महोत्तरीमा आर्थिक वर्ष २०८०/०८१ मा १२ क्विन्टल ९६ किलो गाजा बरामद गरी १२ जनाविरुद्ध १० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्रकुमार भट्टले बताए । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला १० महिनामा प्रदेशको ८ जिल्लाबाट १ सय ३५ क्विन्टल ६९ किलो भन्दा बढी गाँजा बरामद भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा ८५ क्विन्टल ३९ किलो भन्दा बढी र ०७९/८० मा ५६ क्विन्टल ८३ किलोग्राम गाँजा बरामद भएको थियो ।

महोत्तरीमा बरामद गाँजा मकवानपुरमा प्याक भएर आएको जिल्ला प्रहरी महोत्तरीका एसपी हेरम्ब शर्माले बताए । ‘गाँजा तस्करहरूले सानो गाडी, सहज बाटो र छोटो स्टेसन बनाएर भारततर्फ तस्करीका लागि महोत्तरीको बर्दिबासलाई केन्द्र बनाएको देखिन्छ,’ उनले भने । कान्तिपुर

२०८२ जेष्ठ २१, मंगलवार ०१:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय