पवनप्रसाद साह, काठमाडौँ। काठमाडौँमा सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन २०२५ सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलन नेवा राष्ट्रिय पत्रकार संघको आयोजनामा सार्क पत्रकार मञ्च र फोनीजको सहकार्यमा सम्पन्न गरिएको हो।
सम्मेलनको उद्घाटन १३ जुनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो भने समापन १४ जुनमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले गर्नुभयो। समापन समारोहमा मेयर श्रेष्ठले मातृभाषा प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
शुभकामना

नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले घोषणापत्रलाई गम्भीरतापूर्वक लागू गर्न सबै सरोकारवालालाई आह्वान गर्नुभयो। साथै, उहाँले सार्क क्षेत्रका सरकारहरूलाई मातृभाषा पत्रकार सम्मेलनलाई सहयोग गर्न आग्रह गर्नुभयो।
फोनीजका अध्यक्ष लक्की चौधरी, बङ्गलादेशबाट एसजेजेएफका महासचिव मोहम्मद अब्दुर रहमान, भारतबाट एसजेजेएफ बिहार च्याप्टरका अध्यक्ष शशिभूषण कुमार, सम्मेलन समन्वयक सुनिल महर्जन, एनएफएनजेका महासचिव केके मानन्धर लगायतले मातृभाषाको महत्व र संरक्षणको अपरिहार्यता सम्बन्धमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो।
सम्मेलनले जारी गरेको घोषणापत्रमा:
घोषणापत्रलाई सार्क राष्ट्र प्रमुखहरूमा बुझाउने,
मातृभाषा पत्रकारहरूको क्षमता विकास र मातृभाषा सञ्चार गृहहरूलाई प्रवर्द्धन गर्न सरकारसँग आवश्यक बजेटको माग गर्ने,
सरोकारवालासँग नियमित छलफल गर्दै मातृभाषा पत्रकारिता विषयमा जनचेतना अभिवृद्धि गर्नेजस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्।














