गौशाला, महोत्तरी ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितता भएको आरोप
गौशाला नगरपालिकामा दर्ता–चलानी प्रक्रियामा अनियमितता भएको आरोपसहित उप–प्रमुख रेणु महतोले दर्ता चलानी फाइल नियन्त्रणमा लिएको घोषणा गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको मिलोमतोमा जानाजान दर्ता चलानी प्रणाली खाली राखिएको आरोप लगाएकी हुन्।
शुभकामना


महतोका अनुसार, पटक–पटक पत्राचार गरेर आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरिए तापनि प्रमुख प्रशासकीय अधिकृतले कुनै पनि प्रकारको जवाफ नदिएको र अनुगमन सम्बन्धी पत्राचारको समेत बेवास्ता गरिएकाले बाध्य भएर आफूले फाइल नियन्त्रणमा लिएको बताइएको छ।
उप–प्रमुख महतोले सामाजिक उत्तरदायित्व अन्तर्गत जनप्रतिनिधिका रूपमा दर्ता चलानी जस्तो महत्वपूर्ण प्रशासकीय प्रक्रिया पारदर्शी र जवाफदेही बनाउन यस्तो कदम चालिएको स्पष्ट पारेकी छिन्।
यस घटनाले स्थानीय सरकारभित्रको प्रशासनिक अव्यवस्था, सूचना गोप्यता तथा अनियमितताको सम्भावित चक्रबारे गम्भीर प्रश्न उठाएको छ। हालसम्म नगर प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
स्थानीय सरोकारवालाहरूले विषयको निष्पक्ष छानबिन गर्दै दर्ता–चलानी प्रणालीलाई प्राविधिक र पारदर्शी बनाउने पहल गर्न माग गरेका छन्।














