रौतहट, साउन ८ गते । रौतहटको मौलापुरमा सडक निर्माणको गुणस्तरबारे समाचार संकलन गर्न गएका पत्रकार राजकुमार यादवमाथि घातक आक्रमण भएको छ। घटनामा प्रतिनिधिसभा सदस्य प्रभु साहका छोरा विवेक साहको नामसमेत सार्वजनिक भएपछि यो विषयले थप राजनीतिक मोड लिएको छ।
मौलापुर नगरपालिका–५ स्थित आइटी चौकमा बिहीबार दिउँसो सडक कालोपत्रे सम्बन्धी विवाद चुलिँदै गर्दा पत्रकार यादव स्थलगत तथ्य संकलनका लागि पुगेका थिए। त्यही क्रममा स्थानीय केही व्यक्तिहरूको समूहले उनलाई घेरेर कुटपिट गरेका थिए । पीडित पत्रकारका अनुसार कुटपिटमा विवेक साह, राजेश साह र अञ्जित साह सहितको टोली संलग्न रहेको छ। घटना प्रहरीको प्रत्यक्ष उपस्थितिमा भएको भन्दै उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
शुभकामना

घाइते पत्रकार यादवको हाल गौरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनले आफ्नो समाचार संकलनकै क्रममा आक्रमण भएको बताएका छन् ।
यता, विवेक साहले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले दुई समूहबीचको भनाभनका बेला आफू त्यहाँ पुगेको र यादवमाथि आक्रमण गर्नेहरूमा आफू नभएको स्पष्ट पारेका छन्।
घटनापछि नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। महासंघले यो घटनालाई प्रेस स्वतन्त्रतामाथि गरिएको योजनाबद्ध हमला भन्दै कडा विरोध जनाएको छ।
स्थानीय संचारकर्मीहरू तथा अधिकारकर्मीहरूले दोषीलाई उन्मुक्ति दिन खोजिए प्रेस स्वतन्त्रताको गम्भीर हनन हुने चेतावनी दिएका छन् ।














