शिव मारुती ज्वेलर्स

मधेस मधेश । सुक्खा, वर्षाको चरम अभाव र किसानको पीडाबाट आक्रान्त मधेश अहिले गम्भीर विपद् संकटमा छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीको आजको मधेश भ्रमण भने कृषकका वास्तविक समस्या सुन्ने हैसियतमा नभई, पूर्वनिर्धारित सरकारी उद्घाटन कार्यक्रममा सीमित देखिएको छ।

प्रधानमन्त्री ओलीले आज बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत् एक सन्देश जारी गर्दै, “सुक्खाका कारण पीडित किसानका कुरा सुन्ने र वस्तुस्थिति बुझ्ने उद्देश्यले मधेश आइरहेको छु,” भनी जनाएका थिए। यद्यपि, हालसम्म सार्वजनिक भएको कार्यक्रमअनुसार प्रधानमन्त्रीको यात्रा केवल पुल, भवन र पूर्वाधार उद्घाटनमै केन्द्रित देखिन्छ। किसानसँग प्रत्यक्ष संवाद, छलफल वा स्थानीय पीडितको आवाज सुन्ने कार्यक्रम भने तालिकामा छैन।

शुभकामना

स्थानीय कृषकहरुको भनाइमा, वर्षौंदेखि राज्यको बेवास्ता खेप्दै आएका उनीहरूलाई प्रधानमन्त्री स्वयंले आवाज सुन्ने आशा पलाएको थियो। “फेसबुकमा लेखिएको कुरा सुनेर हर्षित भयौं, तर वास्तविक कार्यक्रममा हामी किसानलाई कतै बोलाइएको छैन,” एक स्थानीय कृषकले भनिन्।

वर्षा अभावकै कारण धान रोपाइँमा अत्यधिक ढिलाइ भएको, सिंचाइ नहुनुका कारण बिउ सुक्न थालेको, र मल–बिउको चरम अभाव रहेको अवस्था अहिले मधेशका अधिकांश जिल्लामा छ। यति गम्भीर अवस्थामा पनि सरकारको ध्यान उद्घाटन र रिबन काट्ने कार्यसूचीमा मात्र सीमित हुनुप्रति विभिन्न क्षेत्रबाट आलोचना हुन थालेको छ।

सार्वजनिक अभिव्यक्ति र व्यवहारबीचको यो अन्तरलाई लिएर नागरिक समाज, कृषक संघसंस्था र विपक्षी दलहरूले प्रधानमन्त्रीको भ्रमणलाई ‘नाटकबाजी’ र ‘सस्तो लोकप्रियता हासिल गर्ने प्रयास’को संज्ञा दिएका छन्।

अब हेर्न बाँकी छ — प्रधानमन्त्री ओलीले घोषणामा उल्लेख गरेजस्तै किसानका आवाज सुन्ने इच्छाशक्ति व्यवहारमै देखाउने छन् कि उद्घाटनकै भीडमा मधेश भ्रमण सक्ने छन्।

२०८२ श्रावण १०, शुक्रबार ०५:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय