शिव मारुती ज्वेलर्स

कृषि प्राविधिक , गणेश कुमार सिंह ,गौशाला, महोत्तरी ।जलवायु परिवर्तन, माटोको उर्वराशक्ति घट्दै जानु र पोषणसम्बन्धी संकटबीच नेपालमा परम्परागत बालीहरूलाई फेरि पुनर्जीवन दिन खोजिएको छ। तीमध्ये ‘कोदो’ एक यस्तो बाली हो, जसले जलवायु अनुकूलता, पोषणीय मूल्य र परम्परागत जीवनशैलीलाई सँगसँगै जोडेको छ। नेपालको पहाडी र मध्य–पहाडी क्षेत्रमा सदियौँदेखि खेती हुँदै आएको कोदो बालीलाई पछिल्लो समयमा पुनः वैज्ञानिक दृष्टिकोणबाट मूल्याङ्कन गर्न थालिएको छ।

कोदोजन्य अवधारणाको पुनरुत्थान
कोदो (Finger Millet – Eleusine coracana) नेपालको मौलिक पहिचान बोकेको बाली हो। नेपालको इतिहासमा किराँत, लिच्छविकालदेखि कोदोको खेती हुने गरेको पाइएको छ। पहाडी क्षेत्रका आदिवासी, जनजाति समुदायको आहार संस्कृतिमा कोदो गहिरो रूपमा गाँसिएको छ।
पूर्व–अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको अनुमान गरिएको कोदो बाली अहिले पुनः “स्मार्ट फुड” का रूपमा चर्चामा छ। कृषि वैज्ञानिकहरूको विश्वास छ । न्यून लगानी, मध्यम जल खपत र कम मल आवश्यकताका कारण कोदो बाली दिगो कृषि प्रणालीका लागि उपयुक्त समाधान हो।

शुभकामना

पोषणको खानी: कोदो
कोदो बाली केवल खेतीयोग्य नभई स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। यसमा पाइने प्रमुख पोषक तत्त्वहरूमध्ये:प्रोटिन: ८–११%,फाइबर: १०–१५%,क्याल्सियम: ~३५० मिग्रासम्म ,फलाम, जिंक र एन्टिअक्सिडेन्ट: शरीरकाे प्रतिराेध क्षमता बढाउनेकाम गर्द छ ।

विशेषगरी मधुमेह, मोटोपन, रक्तअल्पता र हड्डीसम्बन्धी समस्यामा कोदो अत्यन्त लाभदायक मानिन्छ। यसमा ग्लुटेन नहुने भएकाले एलर्जी भएका व्यक्तिका लागि पनि उपयुक्त आहारको रूपमा लिन सकिन्छ ।

खेती प्रविधि: परम्परा र प्रविधिको मेल
नेपालमा कोदो खेती दुई तरिकाबाट गरिन्छ: सिधा छर्ने र बिरुवा रोपेर रोपाइँ गर्ने। पछिल्लो समयमा वैज्ञानिकहरूले बिरुवा उत्पादन गरी लाइनमा रोप्ने विधिलाई उत्पादनमैत्री विधिका रूपमा अगाडि सारेका छन्।

खेती प्रविधिका विशेष बुँदा:
उपयुक्त उचाइ: १०००–२५०० मिटर
माटो: बलौटे–दोमट, PH ५.५–७.५
बिउको मात्रा: २०–२५ के.जि. प्रति हेक्टर
कटनी अवधि: १००–१२० दिन
कोदो प्राय: वर्षामा आधारित खेती प्रणालीमा उत्पादन हुन्छ, जसले सिँचाइ आवश्यकतालाई न्यून बनाउँछ। साथै, जैविक मल र घरेलु बायोपेस्टिसाइड प्रयोग गरी उत्पादन गर्दा लागतमा कटौती हुँदै गएको छ।

चुनौती र समाधान
केही वर्ष देखि नेपालमा  कोदो खेती घट्दो क्रममा छ। युवा पुस्ता परम्परागत बालीप्रति आकर्षित नभएको, बजार अभाव, उत्पादनमा विविधता नहुनु लगायतका कारणले कोदोले विस्तार पाउन सकेको छैन।

तर समाधान पनि सम्भव छन्:वैज्ञानिक जातहरूको विकास (जस्तै कोदो-1, कोदो-2),सहकारीमार्फत बीउ र बजारको पहुँच,सरकारद्वारा न्यूनतम समर्थन मूल्य घोषणा,पोषण र जलवायुअनुकूल नीति निर्माण गरि लागू गर्नु पर्ने छ ।

नेपाल अहिले कोदोको सम्भावना अझै बाँकी छ
संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय मिलेट वर्ष (International Year of Millets)’ घोषणा गरेसँगै नेपालमा पनि कोदो लगायतका बालीप्रति ध्यान जान थालेको छ।नथोरै लगानीमा उत्पादन सम्भव, स्वास्थ्यमैत्री र पर्यावरणमैत्री यो बाली अबका दिनमा पोषण, रोजगारी र आत्मनिर्भरताको आधार बन्न सक्छ । यदि सरकारी नीति र किसानको प्रयासले सहकार्य गरेमा नेपाल कोदो खेती गरेर उत्पादन बढाउन सकिन्छ ।

अतह कोदो अब केवल परम्पराको हिस्सा होइन, आधुनिक आवश्यकता हो , जहाँ पोषण, परिश्रम र प्रविधिको संयुक्त शक्ति नेपालका किसानको भविष्य बनाउने सामर्थ्य राख्छ र कोदो खेती वारे किसानलाई प्राथमिकता दिने वातावरण बनाउनु पर्ने छ ।

२०८२ श्रावण १५, बुधबार १४:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय