फोकस नेपाल ,श्रावण २१ गते । प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यू भएको छ । भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ।
राजगढ गाउँपालिका वडा नं. २, कमलपुरका ३५ वर्षीय लालु प्रसाद यादवको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार भारत निकासी गर्न तयारी अवस्थामा राखिएको ठूलो परिमाणको मदिरा सम्बन्धी सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
शुभकामना

डिएसपी बस्नेतका अनुसार मंगलबार राति करिब १० बजे प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमान्डमा खटिएको १० जनाको टोलीमाथि तस्करीमा संलग्न समूहले ढुंगामुढासहित आक्रमण गरेको थियो।
“प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षार्थ चार राउन्ड हवाइ फायर गरिएको थियो,” डिएसपी बस्नेतले भने, “त्यही क्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेको थियो।”
घाइते यादवलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज लगिएको थियो। तर राति साढे ११ बजेतिर अस्पतालमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको छ। त्यहाँ अन्य मदिरा पनि रहेको तर तस्कर समूहले आक्रमण गर्दा नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ।
ढुंगामुढाको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।














