फोकस नेपाल,श्रावण २२ गते । लहान नगरपालिका वडा नं २३ निवासी ३५ वर्षीय हरि मोहन मुखियाको काठमाडौं मेडिकल कलेज (KMC) मा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ। करिब दुई महिनादेखि उपचाररत मुखियाको परिवारले सक्दो प्रयास गर्दै अस्पताल प्रशासनलाई ११ लाख रुपैयाँ बुझाए तापनि उनको ज्यान जोगाउन सकिएन।
मृतकको श्रीमतीको भनाइअनुसार बाँकी डेढ लाख रुपैयाँ तिर्न नसक्दा अस्पताल प्रशासनले शव नदिने निर्णय गर्यो। अत्यन्त कमजोर आर्थिक अवस्था भएकी मृतककी श्रीमतीले बाँकी रकम तिर्न नसक्ने बताएपछि अस्पतालले शव बन्धक राखेको खबर काठमाडौंमा रहेका मधेसका युवाहरू माझ पुग्यो।
शुभकामना

घटनाको जानकारी पाएपछि मधेसका समाजसेवी तथा युवाहरू बबुलु गुप्ता, शिव यादव, रविराज साह लगायतले तत्काल आर्थिक सहयोग सङ्कलन गर्न थाले। केही घण्टामै बाँकी २ लाख रुपैयाँ संकलन गरी अस्पताल प्रशासनलाई बुझाइएपछि मात्रै मृतकको शव परिवारलाई जिम्मा दिइयो।
शव छुटाउनमा सक्रिय रहेका शिव यादवले मृतक परिवारको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिएका छन्। “अस्पताल प्रशासनले मृत्युपछि पनि आर्थिक भार दिँदा मृतक परिवार थप पीडित बनेको थियो, हामीले मानवीय आधारमा सहयोग गरेका हौं,” उनले भने।
युवाहरूले लास मृतकको श्रीमतीलाई जिम्मा लगाउनुका साथै शव गृह जिल्ला सिरहा पुर्याउने जिम्मेवारी समेत लिएका थिए।
मानवता र सहृदयताको उदाहरण बनेका मधेसका यी युवाहरूको पहलले मृतक परिवारलाई ठूलो राहत मिलेको छ। आर्थिक अभावमा मृतकको शव समेत नपाउने अवस्थामा पुगेको परिवारलाई सहयोग गरेर उनीहरूले समाजमा सकारात्मक सन्देश फैलाएका छन्।
















