फोकस नेपाल ,श्रावण २६ गते । बाराको प्रसौनी–३ स्थित नेशनल वाटर कम्पनीले उत्पादन गरेको मिनरल वाटरमा खरपात र फोहर भेटिएपछि उपभोक्तामा व्यापक आक्रोश फैलिएको छ। वीरगञ्ज–१३ राधेमाईको एक किराना पसलबाट बिक्री भएको बोतलमा यस्तो फोहर देखिएपछि स्वच्छ पेयजलको गुणस्तर र उपभोक्ता स्वास्थ्यप्रति गम्भीर प्रश्न उठेको छ।
विशेषज्ञका अनुसार दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइडजस्ता रोग फैलिने जोखिम हुन्छ, जसले विशेषगरी बालबालिका, वृद्ध र कमजोर प्रतिरोधात्मक क्षमताका व्यक्तिलाई गम्भीर असर गर्न सक्छ।
शुभकामना

घटनाबारे जानकारी लिन खोज्दा कम्पनीका सञ्चालक विजय यादवले “यो खासै ठूलो समस्या होइन, जे मन लाग्छ त्यही गर्नुहोस्” भन्ने प्रतिक्रिया दिएका छन्। उनको गैरजिम्मेवार भनाइले उपभोक्ता र स्थानीयवासीको आक्रोश झन् बढाएको छ।
यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य कार्यालय र उपभोक्ता हित संरक्षण शाखा जस्ता निकाय मौन देखिएका छन्। नियमित अनुगमन र गुणस्तर परीक्षण नगरेकै कारण यस्ता गुणस्तरहीन उत्पादनहरू बजारमा खुलेआम बिक्री भइरहेको उपभोक्ताको आरोप छ।
उपभोक्ताले दोषी कम्पनीमाथि तत्काल कडा कारबाही, उत्पादन रोक्ने र सार्वजनिक माफी माग्ने माग गरेका छन्। यस घटनाले नेपालको बोतल पानी उद्योग र नियमन प्रणालीको कमजोरी फेरि एकपटक उजागर भएको छ।














