फोकस नेपाल ,मंसिर ०७ गते । रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसका निर्वाचित वडा सदस्य सतलाल दासलाई विवाहित महिलालाई प्रलोभन देखाई भगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार अपरान्ह करिब ४:३० बजे उनी गौरस्थित एक स्थानबाट पक्राउ परेका हुन्। पक्राउको पुष्टि प्रहरी प्रमुख एसपी रबिन कार्कीले गरेका छन्।
दासमाथि आफ्नै वडाकी विवाहित दलित महिलालाई उपभोक्ता समितिको सचिव बनाइ नजिकीकरण बढाउँदै प्रेम सम्बन्धमा पारेर घरबाटै भगाएको आरोप छ। चार सन्तानका पिता दासले तीन छोराछोरीकी आमासँगको सम्बन्ध बढाउने क्रममा घरदेखि पैसा, सुनचाँदी तथा जग्गासम्म हिनामिना गरेको पीडित परिवारको दाबी छ।
शुभकामना

घटना सार्वजनिक भएपछि स्थानीय राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म आलो–पोलो मच्चिएको छ। यसै विषयमा जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बनेको छ। पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकर दास तत्मा र सल्लाहकार मदन दास नेतृत्वको टोलीले बिहीबार पीडित परिवार तथा स्थानीय सरोकारवालासँग लगातार छलफल गरेको थियो।
पीडित महिलाका पिताका अनुसार २०७२ सालमा विवाह भएकी छोरीलाई दासले उपभोक्ता समितिको सचिव बनाएको केही महिनापछि दुवैबीच आवतजावत बढेको थियो। विदेशमा रहेका महिलाका श्रीमान् कृष्णनन्दनद्वासले पठाएको करिब १२ लाख रुपैयाँ र करिब ३ लाख बराबरका सुनचाँदी दासले लिएको दाबी परिवारले गरेको छ। त्यस्तै महिलाको नाममा रहेको पाँच कठ्ठा जग्गा धरौटी राखेर नगद निकालिएको आरोप पनि लगाइएको छ।
परिवारका अनुसार महिलाले पछिल्ला महिनामा आफ्ना तीन साना छोरालाई घरमै छोडेर दाससँगै बाराको निजगढस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायले खोजतलास गरेपछि दुवै एकै कोठाबाट फेला परेका थिए। तत्पश्चात बारा प्रहरीले उनीहरूलाई इएलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो। सोही दिन कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा दुवैलाई जिम्मा–जमानतमा छोडिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी विष्णु प्रदीप बस्यालले पीडित पक्षले पेश गर्ने प्रमाणको आधारमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति अनिवार्य हुने बताएका छन्।
उता महिलाले आफू घरमा शारीरिक तथा मानसिक हिंसाबाट पीडित भएकाले सुरक्षाका कारण घर छाडेको दाबी गरेकी छन्। मेयर जैसवालले पनि घटनामा संलग्नता सम्बन्धी सबै आरोप अस्वीकार गरेका छन्।
यो घटनाले सात बालबालिकाको भविष्य एकैपटक अनिश्चित बनाएको छ भने विदेशमा रहेका युवाले घरमा पठाउने रकम सुरक्षित रूपमा कसको खातामा पठाउने भन्ने विषयमा पुनः गम्भीर बहस सुरु भएको छ।
यसैबीच वडा सदस्य दास पक्राउ पर्नुअघि राष्ट्रिय तत्मा समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गौर अगाडि धरपकड र कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो। अध्यक्ष दासले पीडित परिवारलाई न्याय नदिलाइ दोषीविरुद्ध कडा कारबाही नभए कठोर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।














