फागुन ८ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बारामा आज (बिहीबार) नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बारा र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा यो अभ्यास गरिएको हो ।
निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्न र मतदातालाई सही तरिकाले मतदान गर्ने प्रक्रिया बुझाउन यो कार्यक्रम आयोजना गरिएको हो । यस पटकको निर्वाचनमा प्रत्येक मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुईवटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था छ ।
शुभकामना

नमुना मतदानमा वास्तविक निर्वाचनको झल्को दिने गरी तीनवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो । पहिलो लाइन महिला मतदाताका लागि दोस्रो लाइन पुरुष मतदाताका लागि तेस्रो लाइन ज्येष्ठ नागरिक, अशक्त तथा असहाय मतदाताका लागि सहज पहुँच सुनिश्चित गर्न छुट्टै व्यवस्था गरिएको थियो ।
कार्यक्रममा मतदान अधिकृत र कर्मचारीहरूले मतदानका क्रममा हुनसक्ने सम्भावित विवाद, मतपत्रको सही छाप र मतपेटिकामा खसाल्ने विधिबारे प्रयोगात्मक अभ्यास गराएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारि,बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,सहायक प्रमुख जिल्ला अधिकारि छविरमण भटराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवर,सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका गणपति विशाल सिलवाल,श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम,राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नविन चौधरी तथा कर्मचारीहरू, जिल्लाका चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरू र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।














