पर्सा, माघ २० गते । वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न मधेश प्रदेश सांसदसहित ४९ जनाविरुद्ध पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले मुद्दा दायर भएको छ।
पर्सा र काठमाडौंका दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जना विरुद्ध मुद्दा दायर गरिएको हो।
शुभकामना

पर्सा क्षेत्र नम्बर ३(क) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(ख) का प्रदेश सांसद श्याम खड्का, पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालसहित ४९ जना वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहेको ठहर गर्दै निकुञ्जले उनीहरूविरुद्ध माघ १७ गते मुद्दा दायर गरेको हो।
प्रदेश सांसद जयसवाल स्वतन्त्रबाट निर्वाचित भएर केही दिन अघि जनता समाजवादी पार्टी प्रवेश गरेका थिए। खड्का नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् ।
पालिकाका पूर्वअध्यक्ष जयसवाल पनि जसपाका नेता हुन्। जयसवालद्वय सहोदर दाजुभाइ हुन्।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काका अनुसार मुद्दा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का, पालिकाका पूर्वअध्यक्ष जयसवाल र सञ्जीव शाहीसहित चार जनाले वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिमको सजाय हुनेगरि मुद्दा दायर गरिएको हो ।
खड्काका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा सजाय हुनेछ।
ऐनमा कसुरदारलाई २० हजारदेखि ५० हजार रुपैयाँ जरिवाना वा ६ महिनादेखि १ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ।














