धनुषा ,असोज २२ गते । इजरायलमा शनिवार भएको आतंककारी हमलामा परी ज्यान गुमाएका जनकपुरका आनन्दइ साह परिवारको एक्लो चिराग थिए । परिवारको एकलोता पुत्र रहेका आनन्दको इजरायलमा भएको आतंकी हमलामा मृत्यू भएपछि अहिले परिवारजनमाथि बज्रपात भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपही बस्ने सोमन साहका २२ वर्षीय छोरा आनन्द साहको आतंकी हमलामा मृत्यू भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रेग्मीले पुष्टि गरेकी छन् ।
शुभकामना

इजरायलमा भएको आतंकी हमलाको क्रममा सपहीका आनन्द साह मारिएको खवर आईतबार अपरान्ह परिवारजनलाई जानकारी भएको थियो । अपरान्हसम्म विभिन्न मिडियामा सपहीको आनन्द साहको मृत्यू भएको खवर फैलिएपछि सोही गाउँका मान्छेहरुले उनको बुवालाई छोरा सम्पर्क गर्न भनेको बताईएको छ ।

तीन दिदीबहिनी रहेको आनन्द परिवारमा एक्लो छोरा थिए । तीन दिदिबहिनीको एक मात्र भाई आनन्द परिवारको सबभन्दा दुलारु (प्रीय) पात्र थिए ।
आनन्दको मृत्यु भएको खबर आइतबार दिउँसो ४ बजे गाउँमा फैलिएको वडाध्यक्ष रमेश कुमार साहले बताए । उनको बहिनीले पटक पटक फोन गरी उनको साथीसँग कुरा गर्दा आनन्दको मृत्यू भएको खवर दिएपछि उनी बेहोस भईन् । त्यसपछि वडाध्यक्ष साहले आफैँ उनको घर पुगेर परिवारजनलाई सान्तवना दिएको बताए । त्यतिबेलासम्म समेत मृत्यूको खवर झुठो होस भने आस पलाएपनि दुतावासले पुष्टि गरिदिएपछि बज्रपात भएको वडाध्यक्ष साहले बताए ।
गत भदौ २६ गतेमात्र उनी कृषिसम्बन्धी तालिम लिनका लागि गएका थिए । कृषिसम्बन्धी तालिम लिन उनीसँगै नेपालका अरू २५ जना विद्यार्थीहरू गएका थिए । जनकपुरको एन्जलस बोर्डिङ स्कुलबाट एसईई र मिट क्याम्पसबाट आईएससी उत्तीर्ण गरेका आनन्द त्यसपछि इजरायल पुगेका थिए ।
घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । पढेर र इजरायलबाट तालिम लिएर आएपछि गाउँमै केही गर्छ भन्ने सपना बुबाले बोकेका सपना चकनाचुर भएको छ । सपनासँगै आनन्द पनि बिलाएपछि बज्रपात परेको छ ।
आमा, बुबा सबै आनन्दको घटनाबारे सुनेर मुर्छित भएका छन् । अहिले सिंगो गाउँ नै शोकमा डुबेको छ । दुई दिन अगाडी उनकी बहिनीले आनन्दसँग कुराकानी गरेपनि उनको बुवाआमासँग भने कुराकानी हुन सकेको थिएनन् । उनको बहिनीको त्यो अन्तिम कल थियो ।
परिवारको एक्लो छोराको विदेसिएको २६ दिनपछि निधन भएको खबरसँगै परिवारमा वज्रपात भएको छ । उनकी बहिनीहरुलाई स्लाईन गरिएको छ भने क्षण क्षणमा मुर्छा पर्न थालेका हुन् ।














