फोक्स नेपाल,संवाददाता । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवारी दिएका लक्ष्मी महतो खरो रूपमा प्रस्तुत हुने एक परिवर्तनको सम्बाहकका रूपमा परिचित छन् । क्रान्तिकारी स्वभावका उनी यहीँ क्षेत्रबाट दोस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । पूर्व गाविस अध्यक्ष समेत रहेका महतोको उम्मेदवारीले लागातार तीनपटक चुनाव जितिसकेका नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पाँच दलीय गठबन्धनको बिँडो थाम्न हम्मे परेको छ । उनै महतोको भित्री कथा धेरैलाई थाहा छैन । आज हामी उनलाई नजिकबाट देखाउँदैछौं ।
तत्कालीन निगौल गाउँ विकास समितीमा ५८ वर्षीय महतो समान्य किसान परिवारमा जन्मिएका थिए । उनका बुवा रामचन्द्र महतो र आमा निर्सी देवी खेतीपाती गरेर गुजारा गर्थे । पाँच दाजुबहिनीमध्ये उनी साइला हुन् । उनलाई धेरैले ग्रामीण भेगमा मुखियाजी भनेर चिन्छन् । क्रान्तिकारी स्वभाव र मुखियाजीबाट महतो चिनिनुका कारण भने रोचक छन् । निगौलस्थित श्री माध्यमिक विद्यालयमा कक्षा ५ सम्म उनी प्रथम स्थान ल्याउँथे । सो पश्चात उनी गौशालास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गर्न गए । त्यहाँ उनलाई सुरुमा धेरैले हेप्थे । शोषण गर्थे । १० कक्षामा पुग्दासम्म त्यसै कारण पढाइप्रति उनको रुची घट्यो । ‘म कक्षामा पहिले आउँदा पनि पहिलो डेस्कमा बस्न दिँदैनथ्यो । शोषण गरिन्थ्यो । मेरो किताब पछाडी राखदिन्थ्यो । त्यसकैलागि झगडा पथ्र्यो, लडाँइ हुन्थ्यो । त्यहीँ लडाइँले मलाई क्रान्तिकारी बन्न मजबुर गर्यो,’ उनी ती दिन सम्झिदै सुनाए ।
शुभकामना

८ कक्षामा पढ्दासम्म त राम्रो पढेर सरकारी जागिर खानुपर्ने सोच भए पनि विभेदले भने उनको त्यो सपना अधुरै रह्यो । उनले पढाई छोडेर खेतीपातीमै आमाबुवालाई सघाउन थाले । लडाकु स्वभाव हुनुका पछाडी महतोको अर्को कथा पनि छ । १२ वर्षकै उमेरमा उनी कुस्ती खेल्न सुरु गरेका थिए । ‘त्यहीँ बेला मैले आफूभन्दा १० गुणा बढी तागत भएका पहलवानसित कुस्ती खेलेँ । मेरो खेल्ने तरिका केही फरक थियो । टाउकोमा टाउको बजारेर उनीहरूलाई हराउँथे । त्यहीँबाट मेरो आत्मबल बढ्यो र लडाकु स्वभावको भए,’ उनले भने, ‘नेताजी सुवासचन्द्र बोसलाई म फलो गर्थे । टिभि च्यानलमा उनको विचार सिद्धान्त देखेर प्रभावित भएको थिएँ । ७ घण्टा साइकल चढेर भगत सिंह, सुकदेव सिंह, राजगुरु लगायतका क्रान्तिकारी नेताबारेमा बनेको फिल्म हेर्न भारतको सितामढी जान्थे ।’
परिवारमा तीन छोरीको बिहेवारी र राम्रो पढाई लेखाई खेतीपातीले भविष्य राम्रो हुने सम्भावना देखेनन् । आर्थिक रूपले बलियो हुनुपर्छ भन्ने सोचका साथ उनी अघि बढे । जनकपुरधामका मारवाडीबाट प्रभावित भएर उनी व्यापार सुरु गरे । २०४९ सालमा आफ्नै गाउँ निगौलमा इट्टाभट्टा संचालनमा ल्याए । त्यतीबेला पैसा नहुँदा पनि इमान्दारिता देखेर साथीभाईले आर्थिक सहयोग गरेका थिए । अढाई सय गरिब परिवारलाई रोजगारी उपलब्ध गराए ।
सुरुवातीका दिनमा व्यापारमा घाटा लाग्यो । जग्गा बेचेर घाटा व्यवस्थापन गरे । कक्षा १० मै पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका उनी विस्तारै राजनीतिमा पनि सक्रिय भए । गाउँ गाउँमा भइरहेको दमन शोषण हेर्न नसकेर राजीतिमा सक्रिय भएको उनले सुनाए ।
२०४८ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसमा सक्रिय हुँदाहँुदै २०५४ सालको स्थानीय निर्वाचनमा पनि टिकट पाएनन् । समर्थकले उनैलाई चुनाव लड्न दबाब दिए । ‘गाउँमा विकास चाहिएको थियो । सडक बाटोको सबैभन्दा ठूलो समस्या थियो । समाजमा अन्याय र अत्याचार पनि उत्कर्षमा थियो । त्यसैले क्रान्तिकारी व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्छ जनताको माग थियो,’ उनले भने, ‘बच्चैदेखि मेरो स्वभाव बुझेकाहरूले मलाई जबर्जस्ती उम्मेदवारी दिन लगाए । सबैले भन्थे सुधार लक्ष्मीबाट मात्र सम्भव छ । त्यो बेला गाउँका चल्ताफिर्ता नेताहरूले झगडा लगाएर गाउँमा पञ्चायती गर्थे । गरिब र उत्पीडितलाई विभेद गर्थो । प्रशासनले त्यतीबेला पैसा खान्थे दुबैतर्फबाट पीडित थिए ।’
खरो र सत्य बोल्ने हुँदा कांग्रेसले टिकट नदिएको उनी सम्झिन्छन् । ‘यसले खरो र साँचो बोलदिन्छ । जो छलकपटक गर्छ उसैले मात्र राजनीति गर्न सक्छ नेताहरूको बुझाई थियो । यद्यपी स्वतन्त्रबाट चुनाव लड्दा महतोले कांग्रेस, एमाले र राप्रपाका बलिया उम्मेदवारलाई हराए । बहुमत नहुँदा पनि गाविसमा उनले पाँच वर्षे कार्यकालमा ऐतिहासिक काम गरेको स्थानीयहरू बताउँछन् ।
२०५६ सालमा जिल्ला विकास समिती महोत्तरीले जिल्लाको ७६ गाविसमध्ये निगौल गाविस उत्कृष्ट गाविस चुनिए । महतोको त्यो बेला न्याय र किसानका लागि गरेको कामको चर्चा अझै हुने गरेको छ । उनले भारतको पञ्जाब राज्यमाजस्तै कृषि सडकमा जोड दिए । झण्डै २० वटा कृषि सडक बनाए । त्यतीबेला उनले गरेको न्यायका कारण पनि उनी चर्चित थिए । न कसैसँग डराउँथे न झुक्थे न बदनामीकै डर हुन्थ्यो । सत्य र न्ययायको अनुयायी बताउने महतोलाई त्यसै कारण क्रुर पनि कतिपयले भन्थे । ‘त्यतीबेला गाविसमा शासन गर्दा राजा जस्तै मेरो निती थियो । शान्ति सुरक्षा, न्याय र विकास प्राथमिकतामा थियो । न्याय गर्दा अलि क्रुर बन्नुपर्छ । आफ्नो, विरानो र ठूलोमान्छे ठानेर कसैलाई छुट दिइन् । त्यसैले केहीले मलाई तानाशाह पनि भन्न भ्याए,’ उनले थपे ।
त्यतीबेला भ्रष्टाचार रोक्न पनि जुक्ति लगाएका थिए । अग्रिम विकास गरेर उनले भ्रष्टाचारमा हदसम्म नियन्त्रण गरेका थिए । ‘अग्रिम विकास निर्माणका काम गर्थे । पैसा नभएपछि बाँडफाडका लागि लडाइ हुने कुरै भएन् । पहिल्यै उधारो काम गराउँथे बजेट आएपछि ती उधारो चुक्ता गर्थे । त्यसमै सबै पैसा खर्च हुन्थ्यो । अनि कसरी घुस खान्छ मान्छेले,’ महतोले थपे ।
पछि हुँदाहुँदै उनी दानका लागि पनि चर्चामा आइरहे । जो पढ्न चाहन्थे, उपचारमा समस्या हुन्थ्यो उनीहरूमध्ये कयौँलाई उद्धार गरेर पढाई र उपचार गराइदिएको उदाहरण छ । दान र इमान्दार राजनीतिका कारण उनको आयस्रोत कम हुँदै गयो । २०५८ सालतीर बैंकले उनको जग्गा नै लिलाम ग¥यो । पछि उनका छोराले व्यवसाय सम्हाल्न थाले । उनले गरिब विपन्न र समाजलाई परेको बेला आर्थिक सहयोग गर्नबाट कहिल्यै पछि परेनन् ।
झण्डै डेढ दर्जन सार्वजनिक दलान, मन्दिर, विद्यालय लगायतका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेको विवरण रहेको उनका छोरा मनोज महतोले सुनाए । हुँदाहुँदै २०७२ सालमा मधेसका एजेण्डा सहित मधेस आन्दोलन भयो । उनी आन्दोलनमा दिनरात खटे । त्यसै क्रममा असई थमन विक हत्या प्रकरणमा उनको नाम पनि मुछियो । यद्यपी ती मुद्दा झुटो रहेको र राज्यले जबर्जस्ती फसाउन खोजेको महतोको दाबी छ ।
त्यसअघि महतोले २०७० सालको चुनावमा यहीँ क्षेत्रबाट आफ्नी श्रीमती रामकुमारी महतोलाई तत्कालीन सदभावना पार्टीबाट चुनाव लड्न सहयोग गरे । यद्यपी उनी पराजित भइन् । ‘म जहिल्यै सत्यका लागि लडिरहन्छु । कहीँकतै मेरो हत्या भयो भने रामकुमारीले सत्यका लागि लड्नुपर्छ भनेर उनलाई चुनाव लडाए । झाँसीकी रानी सिरियल देखेपछि श्रीमतीलाई पनि राजनीतिमा आएर क्रान्ति गर्न मन लागेको थियो,’ उनले भने ।
त्यतीबेला पराजित भएकी रामकुमारी २०७४ सालको स्थानीय निर्वाचनमा गौशाला नगरपालिकाको उममेयरमा लडिन् तर दोस्रो पटक पनि उनी झिनो मतले पराजय बेहोरिन् । गत स्थानीय तहको निर्वाचनमा भने उनका छोरा डा. दिपेन्द्र महतो नगरपालिकाको मेयरमा विजयी भए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि लक्ष्मी उम्मेदवारी दिने तरखरमा थिए । महतोको लोकप्रियताकै कारण नेकपा एमालेले उनलाई टिकट दिएर उम्मेदवार बनाउन तयार भयो ।
मधेस केन्द्रित दलहरू विचारको राजनीति छोडिसकेपछि आफु एमाले प्रवेश गरेर यहाँका उत्पीडित र गरिब जनताका लागि उम्मेदवारी दिएको उनको भनाई छ । ‘गिरिराजमणि पोखरलेले १५ वर्ष यहाँबाट जितेर पटक–पटक मन्त्री भए तर गरिबका लागि केही गर्न सकेनन् । हरहिसाब पनि दिएनन् । त्यसैले यहाँका जनताका लागि काम गर्न पार्टीले मलाई उम्मेदवार बनाएको छ,’ उनले थपे ।














