सर्लाही ,पुस २३ गते । गोलभेंडाको उचित मूल्य नपाएपछि सर्लाहीका किसान मारमा परेका छन्।
केही दिन अघिसम्म यहाँका किसानले गोलभेंडा प्रतिक्रेट एक हजारभन्दा बढीमा बिक्री गरेका थिए। अहिले किसानले गोलभेंडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गर्न बाध्य भएका छन्।
शुभकामना

एक क्रेटमा जम्मा २५ किलो हुन्छ। यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेंडा खेती गरेका किसानको उत्पादन लागत नै नउठ्ने अवस्था आएको किसानको गुनासो गरेका छन्।
गोलभेंडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको हरिवन नगरपालिका-३ डाबरीका किसान लेख आले मगरको गुनासो छ। ‘१५ कठ्ठा जमिनमा लगाएको गोलभेंडामध्ये भर्खर २०-२५ हजार रुपियाँको बेचेको छ तर बजारमा मूल्य आधाभन्दा बढीले घटिसक्यो’ आलेले निराश हुँदै भने, ‘यसैगरी दिनहुँ मूल्य घट्यो भने उत्पादन लागतसमेत उठ्ने अवस्था छैन’, उनले भने।
बर्सेनि मल, मजदुर बिषादीको लागत आकाशिदो छ, तर उत्पादित गोलभेंडाको मुल्य नबढ्नाले किसानले भने जस्तो आम्दानी गर्न नसकेको उनीहरु बताउँछन्।
सुरुका दिनहरुमा किसानले गोलभेंडाको राम्रो मूल्य पाएपनि अहिले अत्याधिक उत्पादन हुन थालेपछि मूल्य घटेको हो। उत्पादन बढिरहेकाले गोलभेंडाको मूल्य अझै ओरालो लाग्ने किसानहरुले बताउँछन्।
त्यस्तै, लालबन्दी नगरपालिका-११, हिरापुरका किसान राममिलन रायले उत्पादनको सुरु र अन्तिम समयमा थोरै उत्पादन हुने हुँदा राम्रो मल्य पाएपनि यो समयमा बर्सेनि गोलभेंडाको मूल्य घट्ने गरेको बताउँछन्। ‘बजारमा स्थानिय गोलभँडा धेरै उत्पादन भएको र भारतबाट पनि गोलभेंडा नेपनल भित्रिएको बहानामा व्यापारीले हरेक वर्ष यो समयमा मूल्य घटाउँदा किसान मारमा पर्ने गरेका छन्।
तर गोलभेंडा खरिद गर्ने ब्यापारीले भने उत्पादन अनुसार बाहिर निकासी नहुँदा मूल्य घटेको बताउने गरेको छ। बजारमा भारतीय गोलभेंडा समेत प्रशस्त भित्रिएकाले यहाँ उत्पादन भएको गोलभेंडाको मूल्य घटेको व्यापारीहरु बताउँछन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको उत्तरी भेगका किसानले सैयौं हेक्टर जमिनमा व्यावसायिक रुपमा गोलभेंडा खेती हुने गर्छ। उत्पादित गोलभेंडा किसानले लालबन्दी,नवलपुर, सासापुर र हरिवन बजारमा ल्याएर बेच्ने गरेका छन्। यहाँ उत्पादन भएको गोलभेंडा काठमाण्डौं, पोखरा, बुटवल,नारायणगढ,धरान लगायत देशका ठूला शहरहरुमा निर्यात हुने गरेको छ।
लालबन्दी तरकारी बजार व्यवस्थापन समितिका अनुसार अहिले लालबन्दी बजारबाट दैनिक तीनसयदेखि चार सय क्विन्टल गोलभेंडा बाहिर निकासी भइरहेको छ।
सर्लाहीमा मंसिरदेखि चैतसम्म गोलभेंडा उत्पादन हुने गरेको छ।














